युवाहरुको नेतृत्व विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले जेसीज समाजमा लोकप्रिय छ । व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक कार्यका लागि उदाहरणीय बन्दै आएका छन् । विशेषगरी युवा शक्तिलाई आकर्षित गर्न सफल भएको जेसीजले विधि र पद्धतिलाई मूल मन्त्र नै मान्ने गरेको छ । व्यक्तिको होइन विधिको शासनमा विश्वास गर्दछ भन्ने आदर्श वाक्यले नै लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्नेहरु जेसीजमा आवद्ध हुने गरेको पाइन्छ । मानव, मानवीयता, मानव समवेदनाजस्ता कुरा जेसीजका लागि आत्मा नै हुन् । तर पछिल्लो समय जेसीजमा नेतृत्वका लागि भाँडभैलो नै हुन थालेको छ । देशभर रहेका सयौंको संख्यामा जेसीज शाखाहरुभित्र विवाद हुने गरेका छन् ।
सदस्य संख्या बढ्दै गएपछि विवाद हुनु स्वभाविक हो । तर नेतृत्व र व्यक्तित्व विकासको लक्ष्यमा हिँडेका युवाहरुले विवाद व्यवस्थापन गर्न सक्नुपर्दछ । आन्तरिकरुपमा भएका सांगठनिक र सामाजिक अभियानमा हुने विवाद सार्वजनिक भएका हुँदैनन् । तर नेतृत्वका लागि विवाद छताछुल्ल हुँदै आएका छन् । विश्व राजनीतिमा नेतृत्वका लागि अपराधकर्म समेत हुने गरेका छन् । नेपालमा पनि षडयन्त्र, छलकपट, धोखाजस्ता विषय सामान्य नै छन् । बलजफ्ती गर्ने र आफूअनुकूल निर्णय गराउने पद्धति नै बनेको छ । विशेषगरी डनबाद नयाँ प्रयोगमा आएको छ । जसले गर्दा असहमत पक्षलाई डर, धाकधम्की गरेर नियन्त्रणमा लिने गरिन्छ । सामाजिक क्षेत्रमा पनि यस्तै परिघटनाहरु देखिन थालेको छ । आखिर सबै समाजकै उपज न हुन् ।
हेटौंडा लेडी जेसीजको विवाद अझै साम्य भएको छैन । महिलाहरुभित्रै नेतृत्वका लागि हानथाप हुन्छ भने पुरुष वर्ग स्वभावले नै झगडालु हुने हुँदा जेसुकै पनि गर्न पछि पर्दैनन् । मकवानपुरमा पाँचवटा जेसीज छन् । जिल्लामा क्रियाशीलमध्ये कान्छो बस्तीपुर जेसीजभित्र पनि विवाद देखिएको छ । हेटौंडा जेसीजमा लामो समयपछि यस वर्ष सहमतिमा नेतृत्व चयन भएको छ । बसामाडी र पालुङमा विवाद भए पनि अहिलेसम्म आन्तरिकरुपमा नै समाधान हुँदै आएका छन् । तर लेडी जेसीजमा ठूलै विवाद भएर केन्द्रसम्म धाउनुपरेका घटना छन् । बस्तीपुर जेसीज हाँडीखोलामा भने यस पटकको विवाद भिन्न खालको देखिएको छ । पूर्वअध्यक्षहरु तथा सदस्यहरुसमेत एकातर्फ र निर्वाचन समिति तथा केही व्यक्तिहरु अर्कोतर्फ देखिएका छन् ।
बस्तीपुर जेसीजमा सन २०२२ का लागि नेतृत्व चयन गर्ने प्रक्रियाप्रति धेरै सदस्यहरुको असहमति रहेको पत्रकार सम्मेलन नै गरेर जानकारी गराइएको छ । नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुले आपत्ति जनाएका छन् । एकलौटी ढङ्गबाट नेतृत्व चयन गरिएको भन्दै वर्ष २०१३ देखि २०१९ सम्मका ७ जना अध्यक्षहरुले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै बिरोध जनाएका हुन् । अध्यक्षका अर्का दावेदारको आफन्तको दुर्घटना भएपछि अस्पताल गएको मौकामा मानवीय समवेदना देखाउनुपर्ने थियो । तर जेसीजभन्दा बाहिरका व्यक्तिहरुको बलमा कब्जाको शैलीमा नेतृत्व चयन भएको देखिन्छ । जेसीज सानो परिवार हो । विधि र पद्धति तथा भाइचारका लागि भेला भएकाहरुबीच निर्वाचन केही दिनका लागि स्थगित पनि गर्न सकिने अवस्था हुँदाहुँदै प्रतिस्पर्धी अस्पताल गएको मौका छोपेर निर्विरोध भएको भन्नु मानवीय असमवेदनाको पराकाष्ठा नै हो । यस्ता घटनाले जेसीजप्रतिको युवाहरुको आकर्षण भत्कन सक्नेछ ।