हेटौंडाः बस्तीपुर जेसीज हाँडीखोलाको सन् २०२२ को नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुले आपत्ति जनाएका छन् । शनिबार एकलौटी ढङ्गबाट नेतृत्व चयन गरिएको भन्दै वर्ष २०१३ देखि २०१९ सम्मका ७ जना अध्यक्षहरुले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै बिरोध जनाएका हुन् ।
सन् २०२२ का लागि अध्यक्षका उम्मेद्वार गणेश अधिकारीको आफ्नै कान्छो भाइको शुक्रबार बेलुका मोटरसाइकल दुर्घटनामा परी भरतपुर अस्पतालमा उपचार भइरहँदा शनिबारको निर्वाचन प्रक्रियाअन्तर्गत् ककसमा उनको उपस्थिति नभएको भन्दै अर्का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) लाई एकलौटीरुपमा अध्यक्षमा निर्वाचित घोषणा गरिएकोप्रति बिरोध जनाइएको वर्ष २०१३ का अध्यक्ष दीपेन्द्रकुमार बर्तौलाले बताउनुभयो । चुनाव केही दिनका लागि सार्न अनुरोध गर्दा बस्तीपुर जेसीजका सदस्यहरु भन्दा बाहिरी मान्छेहरु आएर होहल्ला गर्दै निर्वाचन आयुक्त जयराम सुवेदीलाई दबाव दिएर अध्यक्ष चयन गर्न लगाइएको उहाँको आरोप छ ।
अध्यक्षका उम्मेद्वार अधिकारी र कार्यकारिणी उपाध्यक्षको उम्मेद्वार विजय पौडेलको सहमति र सल्लाहबिना एकलौटी ढङ्गबाट जेसीजको मूल मर्म, मान्यता र विधि बिधानविपरित ९० प्रतिशत सदस्यहरुको असहमति हुँदापनि अध्यक्ष तथा कार्यकारिणी उपाध्यक्षमा प्रेम गोङ्बा र अमृत पाठकलाई निर्वाचित घोषणा गरेर अमानवीय व्यवहार देखाइएको पूर्वअध्यक्ष बर्तौलाले बताउनुभयो ।
जेसीजमा लामो समय काम गर्दा सामाजिक तथा मानवताका कुराहरुलाई आस्थाको रुपमा लिएर काम गरेको बताउनुहुँदै उहाँले अहिले आफैं पूर्वअध्यक्ष रहेको जेसीजको व्यवहारले आफूलाई पूर्वअध्यक्ष भन्न लाज लागेको बताउनुभएको छ । यस विषयमा नेपाल जेसीजमा समेत जानकारी गराउने र पुनः निष्पक्ष ढङ्गबाट चुनाव गराउन माग गर्नुभएको छ । अन्यथा बस्तीपुर जेसीजका ७० जनाभन्दा बढी सदस्यहरुले सामूहिक राजीनामा दिने पनि उहाँले जानकारी दिनुभयो ।
बस्तीपुर जेसीजका वर्ष २०१९ का अध्यक्ष सुनिल अधिकारीले यस घटनालाई कसैप्रति अन्याय गरेको भन्दापनि जानाजान अपराध गरेको दाबी गर्नुभएको छ । जेसीजजस्तो प्रवित्र स्थलमा नाराबाजी गर्दै हुलहज्जत गर्ने कार्यले जेसीजको गरिमामा आँच आउने काम भएको उहाँको भनाई छ । अहिले गलत तरिकाले अध्यक्षसहित पदाधिकारी बन्न खोजेकाहरुलाई सही बाटोमा ल्याउने प्रयास गरिने उहाँले बताउनुभयो ।