हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ४४ करोड ७५ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अन्तिम हिसावमा सहकारीको बचत ४४ करोड ७५ लाख रुपैयाँ देखिएको हो । सहकारीको सेयर सदस्य ५ हजार ६ सय ७ जना हुँदा सेयर पुँजी ३ करोड ८७ लाख रुपैयाँ पुगेको सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
शनिबार सहकारीको २२ औं वार्षिक साधारणसभामा सहकारीको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष बस्नेतले सहकारीको कर्जा लगानी ४६ करोड ३४ लाख रहेको जानकारी दिनुभयो । सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा असल बचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको छ । यस्तै सहकारीले उत्कृष्ट कर्मचारीको रुपमा प्रशासन तथा ऋण शाखाकी प्रमुख रिता पौडेललाई सम्मान गरेको छ ।
साधारणसभाले नयाँ सञ्चालक समिति समेत चयन गर्नेछ । साधारणसभाको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको पनि आतिथ्य रहेको थियो । हेटौंडा–७, नागस्वतीमा मुख्य कार्यालय रहेको सहकारीको सेवा केन्द्र हेटौंडा–८ कमाने र हेटौैंडा–१६ हटियामा रहेको छ ।