हेटौंडाः इस्वी सम्वत्को नयाँ वर्ष सन् २०२२ आज शनिबारदेखि सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२१ को विदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी गेग्रोरियनले सुरु गरेकाले ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नेपालमा विक्रम सम्वत्का आधारमा वैशाख १ गते नयाँ वर्ष मनाउने गरिए पनि ग्रेगाोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि मनाउने क्रम बढ्दै गएको छ । नेपालसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न पर्यटकीय क्षेत्रमा भेला भएर नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको दिन शनिबार नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपी प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन विश्वव्यापीरुपमा आग्रह गरेको थियो । नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवम् सम्पूर्ण नेपाली भाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउन टोपी दिवस मनाउन थालिएको दिवसका संस्थापक अभियन्ता शंकर बन्जाडेले जानकारी दिनुभयो । यसवर्ष ‘नेपाली टोपीः हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान’ नाराका साथ नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन प्रतिष्ठानले आग्रह गरेको छ ।