कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेतृ डीना ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले ४६ औं ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहमहान्त्री डिनाले कांग्रेसका संस्थापक नेता बीपी कोईराला लगायतका अन्य नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय मेलमिलाप दिवस’ का रुपमा मनाउने गरेको स्मरण गर्नुभयो । उहाँले अहिले सबैैले बीपी कोईरालाको विचारलाई सम्झनुपर्ने बताउनुभयो । बीपीको अहिले पार्टी, विधान, दस्तावेज बीपीकोे विचारमा आवद्ध रहेको बताउनुभयो ।

संविधानलाई लोकतान्त्रिक बनाउँदै गर्दा बीपीको विचार, समावेशितालाई लिएर राष्ट्रलाई समावेशी बनाएको डीनाको भनाइ थियो । नेपाली काङ्ग्रेसको बहुमत सरकार बनेपछि मात्र आर्थिक उन्नति, आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणका कुराहरु सम्भव हुने नेतृ डीनाले दावी गर्नुभयो । नेपाली काङ्ग्रेस मकवानपुरका उपसभापति विष्णु प्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईरालाको पनि आतिथ्य रहेको थियो ।