आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै मेयर महत ।

हेटौंडाः मकवानपुर पत्रकारका लागि आयोजना गरिएको आधारभूत पत्रकारिता तालिम समापन भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रदेश सरकार खारेज गर्नुपर्ने बताउनु भएको छ ।

राजनीतिक स्वार्थपूर्ति गर्नकै लागि प्रदेश सरकारमा १४ वटा मन्त्रालय बनाएर मन्त्री र राज्यमन्त्री गरी १८ जनाको मन्त्रीमण्डल बनाइएको भन्दै मेयर महतले प्रदेशको औचित्यमाथि प्रश्न उठाउनुभएको छ । स्थानीय तहको मतहतमा मालपोत र नापी कार्यालय सञ्चालन हुनुपर्ने मेयर महतले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले शासकका विरुद्व कलम चलाई समाज परिवर्तनमा लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । गत बिहीबारबाट सुरु भएको तालिम बुधबार समापन भएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा मकवानपुर शाखाको व्यवस्थापनमा भएको तालिममा मकवानपुरका ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो ।