अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्यमा निर्वाचित अभिभावकहरु ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–३, लामिटारस्थित नवज्योति आधारभूत विद्यालयको २५ औं अभिभावक भेला मंगलबार भएको छ । भेलाले चार जना अभिभावकलाई विद्यालय व्यवस्थापन समिति सदस्यमा सर्वसम्मत चयन गरेको छ । सदस्यमा वीरबहादुर राई, बसन्ती स्याङ्तान, मुना बोम्जन र जीवन राईलाई चयन गरेको नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीले जानकारी दिनुभएको छ ।

अभिभावक भेलामा सहभागी अभिभावक तथा विद्यार्थीहरु ।

अभिभावक प्रतिनिधि चयन भएसँगै वडाप्रतिनिधी, शिक्षा प्रतिनिधी र प्रअको प्रतिनिधी हुने गरी ७ सदस्यीय समिति निर्माण भएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । बुद्विजीवि र शिक्षाप्रेमी दुईजना मनोनित गरेर ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति निर्माण हुने छ । प्रधानाध्यापक, शिक्षा प्रतिनिधी र वडा प्रतिनिधि बाहेकका सदस्यमध्येबाट एकजना अध्यक्ष चयन गरिनेछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी अर्यालको सभाध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको थियो । अभिभावक भेलामा वडाध्यक्ष विष्णु बहादुर थिङ, मनहरी गाउँपालिकाको शिक्षा विकास शाखाका प्रमुख हरिचन्द्र सापकोटा, स्रोत शिक्षक पूर्णभद्र भुषालको पनि आतिथ्य रहेको थियो ।