हेटौंडाः हेटौंडा–८ स्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले शुक्रबार फुड फेष्टिवलको आयोजना गरेको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले फुड फेष्टिवलको आयोजना गरेको हुन् ।
कक्षाको पेशा व्यावसाय विषयको अतिरिक्त क्रियाकलाप अन्तर्गत फेष्टिवल भएको विद्यालयका प्रिन्सिपल रामशरण रिजालले जानकारी दिनुभयो । कक्षाका ४७ जना विद्यार्थीहरु सहभागी फेष्टिवलमा कक्षा ८ का पेसा व्यवसाय विषय शिक्षक सुजिता घिमिरेले प्रशिक्षण गराउनुभएको थियो । विद्यार्थीको ४ समुह बनाई विभिन्न प्रकारका खाद्यान्न परिकारहरु बनाउनेबारे प्रशिक्षण गराइएको थियो । विद्यार्थीहरुलाई मम, पुरी, तरकारी, पकौडा लगायतका खाद्य पदार्थहरु बनाउन र घरायसी वातावरणमा कसरी खाना बनाउने भन्नेबारे प्रशिक्षण दिइएको थियो ।
विद्यार्थीले बनाएका खाद्य पदार्थ विद्यालयमै विक्रि गर्ने र संकलन भएको रकम मानवसेवा आश्रमलाई हस्तान्तरण गर्ने प्रिन्सिपल रिजालले बताउनुभयो । गत वर्ष आयोजित फुड फेष्टिवलबाट भएको आम्दानी हेटौंडा–११ स्थित मामाघर नेपाललाई सहयोग गरिएको थियो ।