त्रिभूवन माविका पूर्वप्रधानाध्यापक बसन्त विडारीलाई सम्मान गर्नुहुँदै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविको ६० औं अभिभावक दिवस शुक्रबार आयोजना गरिएको छ । अभिभावक दिवसको अवसरमा विद्यालयले वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ भने विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु तथा पूर्वप्रधानाध्यापकहरुलाई सम्मान गरिएको छ ।

कक्षागत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिँदै ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु र पूर्वप्रधानाध्यापकहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । स्थापनाकालदेखि हालसम्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुलाई सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको थियो । अभिभावक भेलाको अवसरमा विद्यालयका प्रधानाध्यापकले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनुभएको छ ।

१२ कक्षासम्म पठनपाठन हुने त्रिभुवन माविमा ७ सय १ जना विद्यार्थी अध्ययरत छन् । एक शिक्षक एक ल्यापटप वितरणको तयारी गरिरहेको विद्यालयले दुग्ध तथा खाद्य प्रविधि सम्बन्धी तीन वर्षे डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्न लागेको प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । पछिल्लो एक वर्षको अवधिमा खाली कक्षा व्यवस्थापनका लागि कल टिचर कार्यक्रम, कक्षागत अभिभावक भेला तथा अन्तरक्रिया, विद्यार्थीको व्यक्तिगत विवरण व्यवस्थापन, शिक्षक, विद्यार्थीका लागि आचारसंहिता लागू गर्ने, पुरानो भवनमा रंगरोगन गर्ने, विज्ञान प्रयोगशाला निर्माण, विद्यालय परिसरमा बगैंचा निर्माणको कार्य गरिएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

अभिभावक भेलाबाट शिक्षक अभिभावक संघ (पिटिए) गठन गरिनेछ । अभिभावक भेलामा जनप्रतिनिधि, स्थानीय संघ, संस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।