शुक्रबार क्याम्पा रंगशालाको आरसीसी प्यारापिटको ढलाई गरिँदै ।

हेटौंडाः हेटौंडा–५ स्थित क्याम्पा रंगशालाको प्यारापिट ढलान गर्ने कार्य भएको छ । शुक्रबार आरसीसी प्यारापिटको ढलाई भएको हो । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन रंगशालामा ३ हजार ५ सय क्षमताको आरसीसी प्यारापिटसँगै २ हजार क्षमताको फलामे ट्रसको प्यारापिट निर्माण भइरहेको छ ।

क्याम्पा रंगशालामा फलामे ट्रसको प्यारापिट निर्माण गरिँदै ।

शुक्रबार आरसीसी प्यारापिटको ढलान कार्य सकिएसँगै अबको एक महिनाभित्र प्यारापिटको निर्माण कार्य पूरा हुने पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकासँगै विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा ७५ लाख लागतमा आरसीसी प्यारापिट निर्माणको कार्य भइरहेको छ भने २० लाख रुपैयाँ लागतमा २ हजार क्षमताको फलामे ट्रसको प्यारापिट निर्माण कार्य भइरहेको छ । आरसीसी प्यारापिट खेलमैदानको दक्षिणतर्फ निर्माण गरिँदैछ भने फलामको ट्रसको प्यारापिट भने खेलमैदानको उत्तरतर्फ मञ्चको दायाँ–बायाँ निर्माण गरिँदैछ । क्याम्पा रंगशाला निर्माणमा हालसम्म करिब डेढ करोड रुपैयाँ लगानी भइसकेको अध्यक्ष घिमिरेले बताउनुभएको छ ।

पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको अगुवाईमा क्याम्पा रंगशाला घेराबार गर्ने, वृक्षरोपण गर्ने, रनिङ ट्र्याक निर्माण गर्ने कार्य पूरा भइसकेको छ भने रंगशाला परिसरमा बगैंचा निर्माणको कार्य पनि भएको छ । फुटबल खेल मैदान निर्माणका साथै खेलमैदान र रनिङ ट्र्याकको बीचमा तारबार लगाउने कार्य पनि सुरु गर्न लागिएको छ ।