हेटौंडाः प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधसँगै बुधबार बसेको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा समसामयीक विषयमा दलको कुरा राखेसँगै एमालेका सांसदहरुले उठेर संसद चल्न दिएनन् ।
बागमती प्रदेशमा ८ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्याएको, मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको एक कार्यक्रममा आफ्नो पार्टी गठन गरेर आए बजेट दिने नत्र एक सुका पनि बजेट नदिने भनेर दिएको भाषणको औचित्य पुष्टि हुने जवाफ एमालेले तथ्यगत रुपमा माग गरेको छ । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको पूर्व सरकारको योजनाहरु रोक्ने गरेको भन्दै प्रदेशको गौरवको आयोजना तथा बजेट समेत विनियोजन भई सम्झौता भइसकेको योजनाहरु नरोकी यथावत कायम गर्न माग गर्नुभयो । पूर्व मुख्यमन्त्री पौडेलले ४२ महिनासम्म बागमती प्रदेशलाई कसैले औंला उठाउन पनि नसकको भन्दै अहिले प्रदेशको नाम सातै प्रदेशमा बदनाम भएको बताउनुभयो । वर्तमान सरकारले गरेको ज्यादती र अपराध प्रमुख प्रतिपक्षले टुलुटुल हेरेर नबस्ने समेत पौडेलले बताउनुभयो । बागमती प्रदेशको मुख्यमन्त्री बनेको ५५–५६ दिनमै प्रदेश सरकार निरिह र गलेको पौडेलले आरोप लगाउनुभएको छ । अझै तीन मन्त्री र केही राज्यमन्त्री थप गर्न बाँकी भएको भन्दै चौथो पटक पनि मन्त्रीपरिषद् पुर्नगठन गर्न तयारी भएको बताउनुभयो । आफ्नो ४२ महिने कार्यकालमा ३ पटक मन्त्रीपरिषद् पुर्नगठन गरेका पौडेलले ५० दिनमै चौथो पटक मन्त्रीपरिषद् पुर्नगठन गर्र्ने अवस्था आएको भन्दै बागमती प्रदेशको छवी ध्वस्त बनाएको उहाँको भनाई छ ।
एकै भवनमा पाँच वटा मन्त्रालय स्थापना गरेर सहकारीको भवन हो की मन्त्रालयको हो भन्दै उहाँले ब्यङ्ग्य समेत गरे । १० करोड बजेट भएको महाशाखालाई युवा तथा खेलकुद मन्त्रालय बनाएर सरकार अघि बढेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
बागमती प्रदेश सभामा पर्यटन विधयेक सम्बन्धी समितिले तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यसुचि भएपनि संसद अघि बढ्न सकेन । बामगती प्रदेश सभा बिहीबार बिहान ८ बजसम्मको लागि स्थगित भएको छ । एमालेले सकारकाले प्रष्ट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।