हेटौंडाः हेटौंडा–२ स्थित मानसचोकमा रहेको गणपति बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । शनिबार सम्पन्न १० औं वार्षिक साधारणसभाको अवसरमा संस्थाले गत आर्थिक वर्ष २०७७/०७८ मा कुल ५ करोड २१ लाख ७३ हजार २ सय रुपैयाँ कारोबार गरेको जनाइएको हो ।
संस्थामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ सय जना पुरुष र २ सय ९३ जना महिला गरी कुल ७ सय ९३ जना सेयर सदस्य भएकोमा हाल एक हजार ३ सय ५० जना सेयर सदस्य पुगेको संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । यस्तै गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाको सेयर पुँजी ७३ लाख ७३ हजार २ सय रुपैयाँ रहेको छ भने बाह्य ऋण ५० लाख रहेको पनि जनाइएको छ ।
साधारणसभामा अध्यक्ष घिमिरेले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने सचिव झलकप्रसाद गौतमले संस्थाको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष भीमप्रसाद तिमल्सिनाले संस्थाको आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभामा संस्थामा रिक्त रहेको उपाध्यक्ष र १ सदस्य पदमा पदपूर्ति गरिएको छ । संंस्थाको उपाध्यक्षमा कमलराज मैनालीलाई सर्वसम्मत चयन गरिएको छ भने सदस्य पदमा मोहन उप्रेतीलाई चयन गरिएको छ । यस्तै संस्थाले उत्कृष्ट गणपति बचतकर्ता, निक्षेपकर्ता, असल ऋणी, अधिक समय बचतकर्ता, बाल बचतकर्ता, जेष्ठ नागरिक, उत्कृष्ट कर्मचारी तथा संस्थापक गरी ११ जनालाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पतालका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलगायतको आतिथ्य रहेको थियो ।