मृगौला पीडित महिलालाई सहयोग हस्तान्तरण गर्दै गौतम दम्पति ।

हेटौंडाः विवाह वर्षगाँठको अवसरमा एक दम्पत्तिले मृगौला पीडित महिलालाई सहयोग गरेका छन् । मकवानपुरका साहित्यकार एवम् शिक्षक दीपक गौतम र उहाँकी जीवनसंगिनी प्रभा पौडेलले आफ्नो विवाहको तेह्रौं वर्षगाँठको अवसरमा एक मृगौला पीडित महिलालाई ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

हेटौंडा–४, पारिजातपथमा लामो समयअघिदेखि ठेलामा फलफुल व्यापार गर्दै आउनु भएकी ४७ वर्षीया विनिता उप्रेतीलाई गौतम दम्पतीले मंगलबार सडकमै आर्थिक सहयोग गरेका हुन् । दुवै मृगौला फेल भई केही महिनाअघिदेखि डाइलासिस गराउँदै आउनु भएकी उप्रेतीलाई उपचारमा कठिनाई उत्पन्न भइरहेको र उपचारको क्रममा उप्रेतीले आफ्नो ठेलासमेत बिक्री गरेको थाहा पाएपछि औषधी जोहो गर्नका लागि थोरै भए पनि सहयोग गरेको गौतमले जानकारी दिनुभयो । उप्रेतीले हाल हेटौंडा अस्पतालमा नियमित मृगौला डाइलासिस गराइरहनुभएको छ ।