हेटौंडा–१६ स्थित आकाशधारा पानीसारा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरका तीन वटा पालिकाका १५ वटा विद्यालयका एक हजार चार सय ५० विद्यार्थीलाई शैक्षिक सामग्रीसहित विद्यालय पोशाक र न्यानो कपडा वितरण गरिने भएको छ । हेटौंडा–११, नवलपुरस्थित ग्रामीण असहायक बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्र (रुहेल सिआरसी) ले हेटौंडा उपमहानगरका २ विद्यालय, बागमती गाउँपालिकाका १० विद्यालय र राक्सिराङ गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीलाई सहयोग गर्न लागेको हो ।

आइतबारदेखि शैक्षिक सामग्री, विद्यालय पोशाक, व्याग र न्यानो कपडा वितरण गर्न सुरु गरिएको रुहेल सिआरसीका कार्यक्रम व्यवस्थापक केदार आचार्यले जानकारी दिनुभएको छ । आइतबार, सोमबार र मंगलबार गरी तीन दिनमा ५ वटा विद्यालयका विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको आचार्यले जानकारी दिनुभयो । बागमती गाउँपालिकाको टंकेश्वर आधारभूत विद्यालय, जनप्रभात आधारभूत विद्यालय र आधारभूत विद्यालय शाखाटार, हेटौंडा उपमहानगरपालिकाको वीपी आधारभूत विद्यालय र आकाशधारा पानीसारामा सहयोग सामग्री वितरण गरिएको छ ।

हेटौंडाका दुई विद्यालयमा १३० जना र बागमतीका ३ विद्यालयमा २१५ जना विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको छ । आज बुधबार राक्सिराङको विकुटारस्थित जनजागृति आधारभूत विद्यालयका ५६ जनालाई सहयोग सामग्री वितरण गरिनेछ । विद्यालय पोशाकको भने कपडा दिएर सिलाई खर्च दिने गरिएको छ । कपडा हस्तान्तरण गरेर सिलाई गरिसकेपछि मात्रै सिलाई खर्च दिने गरिएको कार्यक्रम व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

रुहेल सिआरसीले १ सय ५ जना विद्यार्थीलाई खाद्यान्न समेत सहयोग गरेको छ । आवश्यकतामा आधारित भई सहयोग गर्ने गरेको व्यवस्थापक आचार्यले बताउनुभएको छ । रुहेल सिआरसीले बालगृह समेत सञ्चालन गरेको छ । बालगृहमा २० जना किशोरी बस्दै आएका छन् ।