हेटौंडाः बागमती प्रदेशमा नियुक्त भएका पाँच जना मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मन्त्रीहरुलाई सपथग्रहण गराउनुभयो । यस्तै मुख्यमन्त्री राजेन्द्र पाण्डेले कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एस की इन्द्रमाया गुरुङलाई सपथ खुवाउनुभएको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएको हो । गत कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले ३ मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो ।
सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका सांसदहरु घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धरले खानेपानी, उर्जा तथा सिँचाई, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।