नेपाली कांग्रेसमा लामो समयदेखि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलाउनेहरु अन्तिम अवस्थामा पछि हटेका छन् । कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अपेक्षा आम नागरिकको थियो । तर सभापतिका लागि भएको दोस्रो चरणको मतदानले शुभचिन्तकको भावनामा पानी छ्याप्ने काम भएको छ । पार्टीभित्र ऊर्जा भर्न नेतृत्वमा नयाँ अनुहारको खोजी भइरहेको थियो । सभापतिका लागि दोस्रो पुस्ताका नेताहरुको सक्रियताबाट शुभचिन्तकहरुसमेत उत्साही बनेका थिए । तर दोस्रो पुस्तालाई नेतृत्व स्वीकार गर्ने क्षमता अझै विकास हुन बाँकी देखिएको छ । देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक दलका रुपमा कांग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अपेक्षा फेरि एक पटकका लागि अन्त्य भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पहिलो पुस्ताका रुपमा क्रियाशील छन् । उनीहरु अब नेतृत्वमा भन्दा पनि अभिभावकका रुपमा रहनु पर्दछ भन्ने मत ठूलो थियो । तर देउवाले सबैभन्दा बढी मत पाएपछि विमलेन्द्र निधि र प्रकाशमान श्रेष्ठले उनैलाई सहयोग गर्नुको रहस्य के हो भन्ने प्रश्न उठेको छ । कल्याण गुरुङ र प्रकाशमानले देउवाको चर्को स्वरमा हिजोका दिनमा गरेको विरोधको अब अर्थ खोज्नुपर्ने हुन्छ । पार्टीभित्र रुपान्तरण र नेतृत्व हस्तान्तरणका लागि भन्दै लामो सहयात्रा छाडेर विद्रोह गर्ने निधि र विश्वप्रकाशको औचित्य के भयो ? देउवाले धेरै मत ल्याउनेछन् भन्ने पूर्व आँकलन थियो । थाहा हुँदाहुँदै पनि प्रतिस्पर्धामा गएका नेताहरु किन यसरी गले भन्ने प्रश्नको उत्तर भविष्यले दिने नै छ ।
सभापतिका उम्मेद्वारहरुमध्ये शेखर राजनीतिकरुपमा सबैभन्दा कान्छो हुन् । के यही आधारमा मात्र उनलाई दोस्रो चरणको निर्वाचनमा साथ छोडिएको हो ? तर देउवापछि सभापतिमा सबैभन्दा बढी मत ल्याउने व्यक्तिमा त उनको नाम लेखिन्छ । त्यसपछि जुनियर सिनियरको प्रश्न कहाँ बाँकी रहन्छ ? राजनीतिमा नैतिकता भन्ने कुरा सबैभन्दा ठूलो हुन्छ । नेतृत्व परिवर्तन हुनैपर्ने भन्दै गरिएको प्रतिवद्धता आज शेखरलाई छाडेर देउवालाई साथ दिँदा कहाँ बाँकी रह्यो ? युवा पुस्ताको खोजी भन्दै गर्दा देउवालाई नै निरन्तरता दिनु कत्तिको स्वभाविक हो ? अघिल्लो दिनसम्म तीन जना एक ठाउँ उभिन तयार रहेको भनेका नेताहरु एकाएक देउवातिरै किन घुर्सिए ? यसमा सत्ताको खेल नहोला भन्न सकिँदैन ।
कांग्रेसको नेतृत्वमा नागरिक तथा शुभचिन्तकहरुले नयाँ अनुहार खोजिरहँदा कार्यकर्ताहरु पुरानैमा रमाएको देखियो । सभापतिलाई आएको मत विश्लेषण गर्ने हो भने गगन र विश्वप्रकाशहरु पनि पछाडि पर्नेछन् । वडादेखि नै प्यानल बनाएर केन्द्रमा पुगेकाहरुले आफ्नो विवेकभन्दा पनि गुटगत स्वार्थमा मात्र मत दिएको देखिएको छ । पार्टीभित्रको निर्वाचन एकाघरको नेतृत्व चयन हो । त्यसैले आफूलाई इच्छा लागेको र मनले खाएकोलाई भोट दिन सक्नुपर्दछ । तर कार्यकर्ताहरुमा त्यस प्रकारको क्षमता देखिएन । नेतादेखि कार्यकर्तामा परिवर्तन र पुस्तान्तरणको कुरा गर्ने तर व्यवहारमा पुरानै चिन्तन र व्यवहार देखिएको छ । नेतृत्व चयनको दृश्यले पुस्तान्तरण र हस्तान्तरण गफमात्रै प्रमाणित भएको छ ।