हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया सुरु भएको छ । मुख्यसचिव शंकरदास बैरागीसहित सातै प्रदेशको प्रमुख सचिवहरु आइतबारदेखि मंगरबारसम्म हेटौंडामा जारी अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रियामा भाग लिन हेटौंडा आइपुगेका हुन् ।
बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बैठकको आइतबार उद्घाटन गर्दै यसले महत्वपूर्ण रिजल्ट दिने बताउनुभयो । उहाँले संघीयतामा देश गएसँगै प्रदेशको समस्या, चुनौती लगायतका विषय मुख्यसचिवसँग ढुक्कसँग राख्न सातै प्रदेशको प्रमुख सचिवहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल लगायतको पनि उपस्थ्तिि रहेको थियो ।
सातै प्रदेश मध्य पहिलो पटक हेटौंडामा बसेको अन्तर प्रदेश बैठकमा संघीयतामा देश गएसँगै हासिल गरेको उपलब्धी, प्रदेश सरकारको असल अभ्यास, भोगेको समस्या र चुनौतीको बारेमा छलफल हुने भएको छ । प्रदेश अन्तर्गतको संरचना, शासकीय सुधार, कर्मचारी समायोजन, अन्तर प्रदेश समन्वय, प्रदेश निजामति ऐन, स्थानीय तहको समन्वय लगायत प्रमुख सचिवहरुको अनुभव बैठकमा आदानप्रदान हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बागमती प्रदेशको सचिव यमलाल भूसालले जानकारी दिनुभयो ।