हेटौंडाः लागुऔषध खैरौ हिरोइन जस्तो देखिने पर्दाथसहित मकवानपुर प्रहरीले चितवनका २ जनालाई हेटौंडामा पक्राउ गरको छ । हेटौंडाको फरक–फरक स्थानबाट ६ ग्राम ४८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार दिउँसौ १२ बजेर २० मिनेटको समयमा हेटौडा–१५ रातोमाटे चेकपोष्टमा बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्दा बसमा सवार चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का बस्ने ५२ बर्षीय नारायण खड्कालाई पक्राउ गरेको छ । प्रहरीले शंका गरी सुरक्षाजाँच गर्दा उसको साथबाट लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २८० मिलिग्राम फेला पारेको हो । खड्कालाई लागुऔषध जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

शनिबार नै दिउँसो २ बजेर ३० मिनेटको समयमा प्राप्त सूचनाको आधारमा हेटौंडा–११ सहिद स्मारक गेट नजिक शंकास्पद रुपमा हिंडिरहेको चितवनको राप्ती नगरपालिका–७ का ३५ बर्षीयको अर्जुन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई प्रहरीले सुरक्षाजाँच गर्दा उसको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २०० मिलिग्राम फेला पारेको थियो । अधिकारीलाई उक्त लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।