हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार हेटौंडामा भएको निर्वाचनको मतगणना अहिले भइरहेको छ । प्रदेश सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीको मात्रै मतगणना भइरहेको प्रदेश निर्वाचन समिति सदस्य होमराज नेपालले बताउनुभयो ।

हालसम्म ६ सय मत गनिसकेको उहाँले बताउनुभयो । शनिबार हेटौंडाको फरेष्टि क्याम्पसमा भएको निर्वाचनमा २०८३ मत खसेको थियो । प्रदेश सभापतिको भने शनिबार राति मतपरिणाम सार्वजनिक गरिएको थियो । ५० प्रतिशत बढी मत ल्याउन नसक्दा आइतबार प्रदेश सभापतिको लागि शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबिच पु्नः मतदान गरिएको थियो । शनिबार भएको निर्वाचनमा तेस्रो भएका भीमसेनदास प्रधानले आइतबारको निर्वाचनमा बानियाँलाई समर्थन गरेका थिए । कांग्रेस बागमती प्रदेश सभापतिमा देउवा पक्षका इन्द्र बानियाँ विजयी भएका छन् ।

सभापतिको टुंगो लागेसँगै शनिबार भएको अन्य पदाधिकारी र सदस्यहरुको मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो । कांग्रेस बागमती प्रदेशको मतगणना गर्न २ दिन लाग्ने भएसँगै मतगणना स्थल सारिएको छ । हेटौंडा–१० स्थित फरेष्ट्रि क्याम्पसमा प्रदेश सभापतिको मतगणना भएपनि अन्य पदाधिकारी र सदस्यको मतगणना भने हेटौंडा–४ स्थित एक पार्टी प्यालेशमा भइरहेको छ ।

कांग्रेस बागमती प्रदेश उपसभापतिको दौडमा देउवा पक्षका चन्द्र महर्जन (८७), धर्मराज गौतमले ८४ मत पाएका छन् । यस्तै पौडेल पक्षका मोहनबहादुर बस्नेत (११८) र राजेन्द्रप्रसाद बुर्लाकोटीले (९४) मत पाएका छन् । महामन्त्रीमा पौडेल पक्षका कन्चनचन्द्र बादे (१११) र माइकल रामचन्द्र अर्याल (९९), देउवा पक्षका तिलक प्रसाद रुवाली (५८), राजु श्रेष्ठ (७७), सिटौला पक्षक सुरेश श्रेष्ठ ( १७) र गौरीप्रसाद दवाडी दौडले २० मत पाएका छन् ।

यस्तै महिला तर्फको सहमहामन्त्रीमा पौडल पक्षका जीवन डंगोल (१०८), देउवा पक्षका निर्मला बस्ताकोटी (९७) र सिटौला पक्षका मोतिमाया तामाङले ३२ मत प्राप्त गरेका छन् । खुल्ला तर्फबाट सहमहामन्त्रीमा ऋषिराम घिमिरे (१४८), जगन्नाथ धिमाल (२४), जयनारायण सापकोटा (१३), महेन्द्र थिङ (९९), राजकुमार तामाङ(३८), हरिशरण श्रेष्ठले (१०९), विरबहादुर तामाङले १३२ मत पाएका छन् । मतगणना अहिले जारी छ ।