हेटौंडा: ट्राईब्रेकरमा जीत निकाल्दै बागमती गाउँपालिका हेटौंडामा जारी अन्तरपालिका जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । जिल्ला समन्वय समिती मकवानपुरको आयोजनामा हेटौंडा-४ हुप्रचौरमा जारी प्रथम संस्करणको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा बागमतीले इन्द्रसरोबर गाउँपालिकालाई ट्राईब्रेकरमा ३-१ गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित ८० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो । खेलमा सुरुवाती अग्रता इन्द्रसरोबरले लिएपनि बागमतीले खेलमा पुनरागमन गर्दै बराबरी गर्न सफल भएको थियो । खेलको पहिलो हाफको नवौं मिनेटमा नै इन्द्रसरोबरले मिलन लामाको गोलबाट अग्रता बनाएको थियो । २० औं मिनेटमा बागमतीका कप्तान आकाश राना मगरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । २७ औं मिनेटमा नै इन्द्रसरोबरका खेलाडीले फ्रीकिक मार्फत गोल गर्दै पुन:अग्रता बनाउन सफल भएको थियो । इन्द्रसरोबरका खेलाडी बिजय लामाको फ्रीकिक प्रहार बागमतीका गोलरक्षकले ठम्याउन नसक्दा गोल हुन पुगेको थियो ।
खेलको दोस्रो हाफको इन्जुरी समयमा बागमतीका आकाशले दोस्रो गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याएसँगै बागमती हारबाट जोगिएको हो । ट्राईब्रेकरमा इन्द्रसरोबरका २ खेलाडीको प्रहार बागमतीका गोलरक्षक उमेश पाख्रीनले उत्कृष्ट बचाउ गरेका थिए । खेलका म्यान अफ दि म्याच पनि बागमतीका गोलरक्षक पाख्रीन नै घोषित भए ।
अहिले दोस्रो खेलमा थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाबिच प्रतिस्पर्धा भैरहेको छ ।