हेटौंडाः अन्तरपालिका जिल्ला स्तरिय पुरुष नकआउट फुटबल प्रतियोगितामा आज आइतबार २ खेल हुँदैछन् । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल कैलाश गाउँपालिका र बकैया गाउँपालिकाबिच हुनेछ । उक्त खेल हेटौंडा–४ स्थित हुप्रचौरमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा राक्सिराङ्ग गाउँपालिका र भीमफेदी गाउँपालिका प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । दोस्रो खेल पनि हुप्रचौरमा नै दिउँसो २ बजे हुने जनाइएको छ । जिल्लाका १० वटै पालिका (स्थानिय तह) को सहभागितामा जारी प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हिजो शनिबारबाट सुरु प्रतियोगिताको उद्धाटन खेलमा हेटौंडा उपमहानगरपालिकाले विजयी सुरुवात गरेको छ ।
मनहरी गाउँपालिकाको फुटबल टिमलाई सडेनडेथमा १–० गोलले स्तब्ध बनाउँदै हेटौंडा उपमहानगरपालिकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । निकै नै प्रतिस्पर्धात्मक भएको निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि भएको ट्राइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएको थियो ।