हेटौंडाः महिला जागरण समुहको आयोजनामा हेटौंडा–६ चौघडामा वडा स्तरिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका ६ टिमको सहभागितामा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्धाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गर्नुभएको छ ।
प्रतियोगिता उद्धाटन गर्नुहुँदै मेयर महतले महिलाहरुलाई खेल क्षेत्रबाट अगाडी बढाउन यस्ता प्रतियोगिताहरुले धेरै नै मद्दत मिल्ने बताउनुभएको छ । साथै उहाँले खेलाडीहरुलाई स्वतन्त्र रुपले खेल्न दिनुपर्ने र खेलाडीहरुलाई राजनिती गर्ने माध्यम बनाउन नहुने धारणा व्यक्त गर्नुभएको छ । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा शुक्रबार समुह (लिग) चरणका सम्पुर्ण ६ खेलहरु भएका छन् । उद्धाटन खेलमा हेटौंडा–१९ ले आयोजक ख टिमलाई सहज रुपमा सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा आयोजक क ले हेटौंडा–९ लाई २–१ को सेटमा हराउँदै पुनरागमन जीत निकाल्यो ।
यसैगरी तेस्रो खेलमा हेटौंडा–१७ ले आयोजक ख लाई एकतर्फी अंकका साथ सोझो सेटमा पराजित गर्दा चौथो खेलमा आयोजक क ले आयोजक ग लाई पनि सोझो सेटमा पराजित गर्दै समुह ख को बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यस्तै पाचौं खेलमा हेटौंडा–१९ ले हेटौंडा–१७ लाई सोझो सेटमा पराजित गर्दा हेटौंडा–१९ समुह क को समुह बिजेता र हेटौंडा–१७ उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा हेटौंडा–९ ले आयोजक ग लाई सोझो सेटमा पराजित गर्दै समुह ख को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
शनिबार बिहान सेमिफाइनलका २ खेल र दिउँसो तेस्रो स्थानको खेल र फाइनल खेल हुने आयोजकले जनाएको छ । शनिबार हुने पहिलो सेमिफाइनलमा हेटौंडा–१९ र हेटौंडा–९ प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनल खेल आयोजक क र हेटौंडा–१७ बिच हुने कार्यक्रम संयोजक शोभा घिमिरेले जानकारी दिनुभयो । सेमिफाइनलमा पराजित हुने २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक घिमिरेले बताउनुभयो ।