हेटौंडाः नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा एमालेभित्रको ओलीतन्त्र र अन्त्य भइसकेको राजतन्त्र व्यूँताउने राप्रपासँग लड्दै जनअपेक्षा पूरा गर्न कांग्रेसको नेतृत्वमा परिवर्तन जरुरी रहेको बताउनुभएको छ । देशभरका लाखौं मान्छेलाई पार्टीमा जोड्न जरुरी रहेको औँल्याउनुहुँदै कांग्रेसमा नेतृत्व परिवर्तन नभई नयाँ मान्छे कांग्रेसमा नजोडिने थापाको भनाइ थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा जगदिश्वर नरसिंह केसी नेतृत्वको प्यानलको प्रचारमा आयोजित सभालाई शुक्रबार हेटौंडामा सम्बोधन गर्नुहुँदै नेता थापाले पार्टीको तल्लो तहको अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीको आन्तरिक प्रतिस्पर्धामा क्रियाशील सदस्य र प्रतिनिधिले आफूलाई मनपर्ने नेता मात्रै नभई जनतालाई समेत मन पर्ने नेता चयन गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसमा असल नेताको नेतृत्व स्थापित गरी कांग्रेसजनको मात्रै नभई आम जनताको पनि मत जितेर मुलुकको परिवर्तनमा लाग्नुपर्नेमा थापाले जोड दिनुभयो । १४ औं महाधिवेशनमा आफू पार्टीको महामन्त्री पदको उम्मेदवार रहने जानकारी गराउनुहुँदै नेता थापाले संस्थापनइतर समूहले पार्टी सभापति पदमा साझा उम्मेद्वार चयन गर्नुपर्ने बताउनुभयो ।