वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई पुरस्कार वितरण गरिँदै ।

हेटौंडाः मनहरी–४, मसिनेस्थित पशुपतिनाथ माविको ४६ औं स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाइएको छ । विद्यालयले विद्यार्थीहरुबीच विभन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरेर पुरस्कार वितरण गरेको छ । कक्षा १ देखि १० सम्म हरेक कक्षाका विद्यार्थीका लागि फरकफरक खेलकुद प्रतियोगिता गराइएको थियो ।

२०३२ साल मंसिर १५ गते प्राथमिक तहको अध्यापन गर्ने विद्यालयको रुपमा स्थापना भएको पशुपतिनाथ माविले २०६५ सालमा माध्यमिक तहको कक्षा सञ्चालन गर्न सुरु गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि मनहरी–४ का वडा अध्यक्ष ध्रुब खड्काले विद्यालयले निरन्तर प्रगति गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पवन खड्का, बालमुकुन्द ढकालले कोभिड–१९ महामारीका कारण प्रभावित बनेको बालबालिकाको पठनपाठनलाई विद्यालयले संवेदनशील भएर अगाडि बढाउन सुझाव दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यालयमा शिक्षकको दरबन्दी न्यून भएको तथा माध्यमिक तहमा दरबन्दी नभएका कारण पठनपाठनमा समस्या परिरहेको बताउनुभयो । निजी स्रोतमा शिक्षक व्यवस्थापन गरी शिक्षण गर्न चुनौती रहेको भन्दै उहाँले मनहरी गाउँपालिकामा बेग्लै पहिचान बनाउने कार्यका लागि शिक्षक अभिभावक र बालबालिकाबीच समन्वय जरुरी रहेको बताउनुभयो ।