हेटौंडाः ३४ औं विश्व एड्स दिवसको अवसरमा असमानता हटाऔं, एड्सको अन्त्य गरौं शीर्षकका वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका कर्ण यादव प्रथम भएका छन् । कक्षा ९ र १० मा अध्ययनरत २१ वटा विद्यालयका प्रतिस्पर्धीबीच आधुनिक माविका यादव प्रथम भएका हुन् ।
प्रतियोगितामा बालजागृृृृृृृृति बोर्डिङ स्कूलका रेसिका श्रेष्ठ द्वितीय, नवोदय शिशु सदनकी रेजना विष्ट तृतीय र बालबोध माविकी सविना घिमिरे सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३ हजार ७ सय ८५ रुपैयाँ, २ हजार २ सय ५० रुपैयाँ, एक हजार ५ सय रुपैयाँ र ७ सय ५० रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा एचआईभी संक्रमित ३ जनालाई सम्मान गरिएकोे छ । सम्मानित हुनेमा एकजना महिला र दुईजना पुरुष रहेका छन् । लामो समयदेखि एचआईभी संक्रमित भएकालाई जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । लामो समयदेखि एचआईभी संक्रमित भएपनि एचआईभी/एड्स रोगविरुद्ध क्रियाशील भएकाले उहाँहरुलाई सम्मानित गरिएको बताइएको छ ।
बागमती प्रदेशको स्वाथ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता तथा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामालगायतको उपस्थिति रहेको थियो । विश्व एड्स दिवसको असरमा बुधबार साँझमा दीप प्रज्वलनसमेत गरिएको छ ।