हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको यही मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हेटौंडमा हुँदैछ । नयाँ संरचनाअनुरुप सातै प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन हुँदैछ । अधिवेशनले प्रदेश कमिटी चयन गर्नेछ । बागमती प्रदेशका १३ जिल्लामा यतिबेला जिल्ला अधिवेशन चलिरहको छ । केही जिल्लामा मतदान सम्पन्न भएको छ भने केहीमा निर्वाचन सम्पन्न भइसकेको छ ।

हेटौंडामा बागमती प्रदेशको अधिवेशन हुने भएकाले मकवानपुर जिल्लाको भने अधिवेशन पछि हुने भएको छ । कांग्रेस मकवानपुरको पार्टी सभापति ईन्द्रबहादुर बानियाँसमेत प्रदेश सभापतिको लागि दौडमा छन् । औपचारिकरुपमा आफ्नो उम्मेदवारीे घोषणा नगरेपनि प्रदेश सभापतिका लागि आवश्यक तयारी उहाँले गरिरहनुभएको बताइएको छ । बागमती प्रदेश सभापतिमा जित्ने निश्चित भएमात्र बानियाँ उठ्नुहुनेछ । बानियाँ कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतासमेत हुनुहुन्छ । यसअघि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेपनि केन्द्रीय गठबन्धनको निर्णयले बानियाँलाई ‘ब्याक’ गराएको थियो ।

यसैगरी कांग्रेसको संस्थापन समूहबाट बागमती प्रदेश सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहनिकट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले शनिबार आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा रामचन्द्र पौडेल पक्षबाट सात जनाले आफ्नो दाबी पेश गरेका छन् । पौडेल पक्षका मकवानपुरका रामचन्द्र अर्याल ‘माइकल’ र रघुरमण न्यौपानेले प्रदेश सभापतिमा आफ्नो दाबी पेश गर्नुभएको छ । पूर्वजिल्ला सभापतिसमेत रहनुभएका अर्यालले आफ्नो योग्यता सभापति बन्न पुग्ने भएकोले यसमा दाबी गरेको बताउनुहुन्छ । कांग्रेस केपी ओलीको पार्टी नभएकाले प्रदेश सभापतिमा मतदान हुने निश्चित रहेको उहाँले बताउनुभयो । सभापतिमा उहाँसँगै आफ्नै पक्षका ७ जनाले उम्मेदवारीको दाबी गर्नुभएको छ । पौडेल पक्षबाट मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रमेश धमला, राजुराज जोशी, रामचन्द्र खड्का, रघुरमण न्यौपानेले प्रदेश सभापतिमा दावी गर्नुभएको हो ।

आइतबार कांग्रेस नेता प्रकाशमान सिंहले सबै आकांक्षीस“ग छलफलसमेत गर्नुभएको थियो । आइतबारको छलफलबाट साझा उम्मेदवार चयन सम्भव नभएपछि नेताहरुबीच सोमबार छलफल गर्ने तयारी भएको माइकलले बताउनुभयो । छलफलको क्रममा आफू काठमाडौंमा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै मकवानपुरका अर्का प्रदेश सभापतिका आकांक्षी रघुरमण न्यौपानले साथीहरुले प्रस्ताव लिएर आएकाले उम्मेदवारी दिएको बताउनुभयो । पार्टीले आफूलाई सभापतिको दौडमा दौडाएमा जितेर आउने उहाँले बताउनुभयो ।