हेटौंडाः सुरक्षित वैदेशिक रोजगारी प्रभावकारी बन्दै गएको छ । आप्रवासी स्रोत केन्द्रका कारण वैदेशिक रोजगारी सुरक्षित र प्रभावकारी बनिरहेको सेवाग्राहीको भनाई छ ।
केही वर्ष विदेशमै रोजगारी गरेर स्वदेश फर्किनुभएका स्रोत केन्द्रका सेवाग्राही कुमार रुम्बाले घरपरिवार धान्नकै लागि पनि विदेश जाने बताउनुभयो । आफू वैदेशिक रोजगारको शिलशिलमा पलायन भइरहँदा त्यहाँका कम्पनी सक्रिय छ या छैन यकिन गरेरमात्र जाने बताउनुभयो ।
तलब सेवासुविधा र काम भनेको जस्तो हुन्छ कि हुँदैन भन्नेजस्ता सम्पूर्ण जानकारी र सीप सिकेरमात्रै विदेश जाने योजना बनाइरहेको रुम्बाले जानकारी दिनुभयो । आप्रवासी स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारका लागि विभिन्न जानकारी गराउँदै आएको थाहा पाएपछि परामर्श लिन आएको उहाँले बताउनुभयो ।
लाखौंको संख्यामा दिनानुदिन युवा जनशक्तिहरु पलायन भइरहेको अवस्थामा आफ्नै गाउँका एक आफन्त पनि ठगिएको उहाँले बताउनुभयो । यतिमात्र नभई एउटा काम भनेर अर्को काम लगाउने र मानव तस्करी बढिरहेको रुम्बाले भन्नुभयो । यसै सन्दर्भमा आप्रवासी स्रोत केन्द्र मकवानपुरले सुरक्षित वैदेशिक रोजगार तथा सकेसम्म स्वदेशमै रोजगार सिर्जना गरी स्वरोजगार बन्न परामर्श दिँदै आइरहेको छ ।
स्वदेशमा भनेजस्तो कामअनुसार सेवासुविधा र तलब नहुने भएपछि विदेश पलायन हुन लागेको उहाँले बताउनुभयो । आप्रवासीले विदेश पलायन हुन लागेका युवा जनशक्तिलाई सीप सिकाई सुरक्षित वैदेशिक रोजगारको प्रत्याभूति गराइरहेको जानकारीका कारण आफू पनि कानुनी प्रक्रियाअनुसार विदेश जाने उहाँले जानकारी दिनुभयो ।
विदेशमा काम गर्दा स्वस्थ र सुरक्षित रहेमात्र सुरक्षित र सुखी जिन्दगी भन्ने आधारसहित केन्द्रले काम गर्दै आएको सहजकर्ता सहनशीला ढकालले बताउनुभयो । विदेश जानेहरुका लागि कुलतमा नलाग्न, ओभरटाइम काम नगर्न, आफ्नो कार्यक्षेत्र असुरक्षित भएको खण्डमा सल्लाह र सुझाव लिनजस्ता परामर्शहरु दिने गरेको ढकालले बताउनुभयो । मकवानपुरका कतिपय व्यक्तिहरुलाई यस सेवा तथा सुविधाबारे जानकारी नहुँदा पनि कम मात्र परामर्शका लागि आउने गरेको उहाँको भनाई रहेको छ ।
दिनमा करिब १५ जना जिल्लाभरबाट परामर्श लिन आउने गरेको सहजकर्ता ढकालले दावी गर्नुभयो ।
सबैभन्दा बढी आफू जाने मेनपवार सक्रिय छ या छैन भनेर जाँच गर्न आग्रह गर्नेको संख्या अत्यधिक रहेको बताउनुभयो । यसकारण वैदेशिक रोजगार सुरक्षित बन्दै गएको उहाँले दावी गर्नुभयो । नेपालको विमानस्थलबाट, भरपर्दो मेनपावर, रसिद भरपाई र सीप तालिम सिकेरमात्र वैदेशिक रोजागर जान आग्रह गर्ने गरेको बताउनुभयो । यसैगरी स्वास्थ्य परीक्षण, दुर्घटना बीमा, अभिमूखीकरण, धर्म, भाषा श्रम स्वीकृति, सम्पर्क नम्बर, कागजपत्रको सुरक्षामा ख्याल गर्न आग्रह गर्ने गरेको ढकालले जानकारी दिनुभयो ।
ठगहरुले १८ वर्ष नपुगेकालाई पनि विदेश पठाउन खोज्ने, रकम लिनुअघि प्रक्रिया नबताउने, भारतको बाटो भएर पठाउन खोज्ने गर्दछन् । मकवानपुरकै कतिपय वैदेशिक रोजगारबाट फर्किकाहरु ठगीमा पर्ने गरेको घटना स्रोत केन्द्रमा आउने गरेको उहाँले बताउनुभयो । उहाँहरुको रकम फिर्ता गराई सहजीकरण गरिँदै आएको सहजकर्ता ढकालले बताउनुभयो ।
पहिला वैदेशिक रोजगारमा कसैको अश्वासन तथा सम्पर्कमा जाने गरिन्थ्यो । अहिले विभिन्न सूचना र जानकारीका कारण कानुनी प्रकृया पुँयाई वैदेशिक रोजगारमा जानेहरुको संख्या वृद्धि भएको उहाँले दावी गर्नुभयो ।
सकेसम्म स्वारोजगार बन्न अभिपे्ररित गरेको ढकालले बताउनुभयो । वैदेशिक रोजगारमा जानै खोज्नेहरु पनि ठगिनबाट बञ्चित भएको उहाँले बताउनुभयो । गरिबीकै कारण विदेश जाने युवाहरु ९९ प्रतिशत रहेको जानकारी उहाँले दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैदेशिक रोजगारमा जानेहरुलाई केन्द्रले परामर्श दिने व्यवस्था रहेको छ । केन्द्रले डकर्मी, फर्मा लगाउने, स्काफोल्डीङ, इण्डस्ट्रियल इलेक्ट्रिसियन र प्लम्बिङको तालिम पुरुषलाई निःशुल्क दिइएको ढकालले बताउनुभयो । यसैगरी महिलालाई गार्मेन्ट मेशिन अपरेटर तालिम प्रदान गरिएको छ । जसमा पुरुषलाई ५ वटा र महिलालाई एउटा वटा गरी ६ वटा तालिम निःशुल्क दिइरहेको ढकालले बताउनुभयो ।