हेटौंडाः साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदको जिम्मेवारीमा राजेन्द्र पौडेलले निरन्तरता पाउनुभएको छ । शनिबार भएको संस्थाको १३ औं वार्षिक साधारणसभा तथा अधिवेशनले पौडेललाई थप ४ बर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा सचिता भट्टराई, सचिवमा राजकुमार थापा, सहसचिवमा डीबी बर्तौला तथा कोषाध्यक्षमा सीताराम अधिकारीले पुनः निरन्तरता पाउनुभएको छ । यस्तै सदस्यहरुमा मीरा पौडेल, माधव अधिकारी र उमा निरौला सिग्देल दोहोरिँदा कृष्णप्रसाद बासुकला, लक्ष्मी कँडेल र अञ्जु अधिकारी नयाँ सदस्यका रुपमा चयन हुनुभएको छ । यसैगरी लेखा समिति संयोजकमा प्रेमप्रसाद पौडेल तथा सदस्यहरुमा पुरुषोत्तम आचार्य र रमेश अधिकारीलाई पनि साधारणसभाले सर्वसम्मत चयन गरेको छ ।
कार्यसमिति तथा लेखा समितिका पदाधिकारीहरुलाई शनिबार नै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । सहकारीको कार्यसमिति र लेखासमितिमा उम्मेद्वारी दिने तथा फिर्ता लिने समय साधारणसभाभन्दा ४ दिनअघि नै तोकिएको थियो । कार्यसमितितर्फ सचिव, सहसचिव र कोषाध्यक्ष तथा लेखासमितिको पदाधिकारीहरु निर्विरोध हुनुभएको थियो भने अध्यक्ष, उपाध्यक्ष तथा सदस्य पदका लागि चुनाव हुने स्थिति बनेको थियो । अध्यक्ष र उपाध्यक्ष पदमा २-२ जनाको उम्मेदवारी परेको थियो भने ६ जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी परेको थियो । तर, उम्मेदवारहरुको छलफलबाट सहकारीमा चुनाव नगरी सर्वसम्मत नै पदाधिकारी चयन गर्ने निर्णय भएपछि अन्य उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको सचिव थापाले जानकारी दिनुभयो ।
संस्थाले गत आर्थिक वर्ष २०७७-०७८ मा शेयर पुँजी २ करोड ४६ लाख ८८ हजार ३ सय रुपैयाँसहित कुल ३२ करोड ८२ लाख ९९ हजार १ सय ३५ रुपैयाँको कारोबार गरेको जनाइएको छ । संस्थामा २ हजार १ सय ९ जना शेयर सदस्य आबद्ध रहेका छन् भने आगामी ४ वर्षभित्र शेयर सदस्य संख्या ५ हजार पुर्याउने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताउनुभयो । संस्थाले हाल ९ किसिमका बचत तथा १० प्रकारका कर्जा सेवाहरु शेयर सदस्यका लागि उपलब्ध गराएको छ ।
साधारणसभा अध्यक्ष पौडेलको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार लक्ष्मणप्रसाद भण्डारीलगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।