हेटौंडाः मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत पाटन हेटौंडा बारले अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । आजबाट उच्च अदालत पाटन हेटौंडा बार एसोसिएसन र जिल्ला अदालत बार एसोसिएसन मकवानपुरले संयुक्त रुपमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु गरेको उच्च अदालत पाटन हेटौंडा बार एसोसिएसनका अध्यक्ष सुशील पोखरेलले जानकारी दिनुभयो ।
केन्द्रिय बारको परिपत्रअनुसार यही कात्तिक २८, २९ र ३० गतेसम्म दिनको १० बजेदेखी १२ बजेसम्म कालो पट्टी बाँधेर बारले अदालत अगाडि धर्ना दिने उहाँले बताउनुभयो । यस्तै १२ बजेपछ अदालतमा बहस गर्न जाँदा कालोपट्टी बाँधेर जाने उच्च बारका अध्यक्ष पोखरेलले बताउनुभयो । बारले अहिलै बेन्च भने अस्विकार नगरेको उहाँको भनाई छ ।
सर्वोच्च अदालत परिसरमा केन्द्रिय बारले प्रधानन्याधिशको राजीनामा माग्दै प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरालाई अदालत छिर्न नदिने जस्ता कार्यक्रम गरिरहँदा मकवानपुरमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । उच्च अदालत पाटन हेटौंडा बारका अध्यक्ष पोखरेलले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोधका कार्यक्रम जारी रहने जानकारी दिनुभयो ।