हेटौंडाः प्रमुख पर्व तिहारको बिदा सकिएर कार्यालय खुलेको पहिलो दिन जनप्रतिनिधिदेखि कार्यालय प्रमुख, महाशाखा प्रमुखहरु नै कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा पहिलो दिन कार्यालयमा अनुपस्थित हुनुहुन्थ्यो ।
मेयर, उपमेयरसँगै हेटौंडा उपमहानगरपालिकाको महाशाखा प्रमुखदेखि उल्लेख्य संख्यामा कर्मचारीहरु अनुपस्थित थिए । भ्रमण, बहिरी कामको व्यस्तताले कर्मचारी अनुपस्थित भएको हेटौंडा उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक विभाग महाशाखाका प्रमूख भिमप्रसाद तिमाल्सिनाले बताउनुभयो । उपमहानगरकै सामान्य प्रशासन महाशाखाका प्रमूख रामकृष्ण थापा, सामाजिक विकास महाशाखाका प्रमूख बिष्णुकुमारी लामिछाने र योजना तर्जुमा तथा पूर्वाधार विकास महाशाखाका लगायतका कर्मचारीहरु अनुपस्थित थिए ।
हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका बाहिर हेटौंडा—१५ स्थित रातोमाटेका महेन्द्र पाख्रिन कर्मचारीलाई कुरेर बस्नु भएको थियो । विदेश जानका लागि परामर्श तथा कोभिड विरुद्वको खोप लगाउनका लागि जानकारी लिन आउनुभएका पाख्रिन आधा घण्टादेखि कुरेर बस्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्नुहुन्छ ।
यस्तै नापी कार्यालयका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदी र तोकजाँच फाँटका नापी अधिकृत माधव ढकाल लगायत कर्मचारी अनुपस्थित थिए । मालपोत कार्यालयका प्रमूख रामचन्द्र भण्डारी पनि अनुपस्थित थिए । तिहार मनाएर कार्यालय आउने समयस्वरुप भाइटिकाको भोलिपल्ट पनि विदाको व्यवस्था गरिए पनि जनप्रतिनिधिदेखि कर्मचारीसम्म कार्यालयमा टिकाको पर्सीपल्टसम्म हाजिर नहुनुले जनसेवाप्रति जनप्रतिनिधि र राष्ट्रसेवकहरु नै गैरजिम्मेवार भएको देखिन्छ ।