फाइल तस्विर

हेटौैंडाः बागमती प्रदेशको राजधानी हेटौंडाका विद्यालयहरु छठपछि पूर्णरुपमा खोलिने भएको छ । नगर शिक्षा समन्वय समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोलिने हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले बताउनुभयो । भदौ २७ गतेबाट आंशिकरुपमा खुलेका विद्यालय अब पूर्णरुपमा नै खोलिने भएको होे । हेटौंडा उपमहानगर क्षेत्रका विद्यालयमा कक्षा १० सम्म ४० हजार २ सय ७३ जना विद्यार्थी अध्ययनरत छन् ।

हेटौंडा उपमहानगर क्षेत्रमा ७६ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय छन् । अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडा तथा स्वास्थ्यकर्मीहरुको समन्वयमा विद्यालय खोलिने तयारी भइरहेको महाशाखा प्रमुख रिमालले बताउनुभयो । ५ महिनापछि आंशिक रुपमा खुलेका विद्यालय अब जोखिम क्षेत्रको आंकलन गरेर पूर्णरुपमै खोलिने तयारी थालेको उहाँले जानकारी दिनुभयो । विद्यालय सञ्चालन कार्ययोजना पेश गरी पूर्णरुपमा पठनपाठन हुने रिमालले बताउनुभयो ।

कोरोना संक्रमण दर शून्य नभएर जोखिम कायमै रहेको अवस्थामा पनि उपमहानगरले पूूर्णरुपमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको हो । मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने पूर्णरुपमा विद्यालय सञ्चालन गरिसकेको छ ।