संस्मरणकार राम पराजुलीलाई ‘शिव–सावित्री साहित्य सम्मान’ प्रदान गरिँदै ।

हेटौंडाः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका सन्दर्भमा ‘शिव–सावित्री साहित्य सम्मान २०७८’ संस्मरणकार राम पराजुलीलाई प्रदान गरिएको छ । रौतहट जिल्लाको चन्द्रपुरस्थित जनज्योति माध्यमिक विद्यालयमा शिव–सावित्री प्रतिष्ठान तथा अविरल साहित्य समूहले पराजुलीलाई सम्मान गरेको हो ।

तीन दशकदेखि साहित्यका विविध विधामा कलम चलाइरहेका तथा मूलतः संस्मरण विधाका कुशल शिल्पी राम पराजुलीलाई ११ हजार रुपैयाँ नगदसहितको ‘शिव–सावित्री साहित्य सम्मान’ प्रदान गरिएको हो । सम्मानित व्यक्तित्वको कृतित्वबारे साहित्यकार रमेशमोहन अधिकारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली नियात्रा विधाका विशिष्ट व्यक्तित्व निर्मोही व्यासले निरन्तर साधना र अनवरत लेखनले नै मानिस अघि बढ्न सक्छ भन्दै प्रतिष्ठानले योग्य व्यक्तित्वको छनोट गर्न सकेको बताउनुभयो ।

सम्मान कार्यक्रमसँगै विद्यालय तहका विद्यार्थीलाई कविता विधाको प्रशिक्षण दिई कविता लेख्न लगाइएको थियो । कविता लेखनसम्बन्धी सहजीकरण लक्ष्मण आचार्यले गर्नुभएको थियो । कविता लेखन प्रशिक्षणमा सहभागी जोसना अधिकारी, रमन घिसिङ, भावना भण्डारी, शर्मिला परियार तथा एलिजा फुयाँललाई प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीलाई पुरस्कारस्वरूप एक एक सय रुपियाँ प्रदान गरिएको थियो । शिव सावित्री प्रतिष्ठानका अध्यक्ष उत्तममोहन अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा रौतहट, बारा, सर्लाही, मकवानपुर तथा झापाका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।