हेटौंडाः नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ३० लाख नागरिकलाई पार्टीको संगठित सदस्य बनाउने बताउनुभएको छ । आइतबार मकवानपुरको हेटौंडामा योङ्ग कम्युनिष्ट नेपाल (वाइसिएल)को प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै शर्माले माओवादीलाई ठूलो पार्टीको रुपमा निर्माण गर्न ३० लाख संगठित सदस्य बनाउन लागीपरेको बताउनुभयो ।
उहाँले वाइसीएललाई पनि २०६४ सालको जस्तै सक्रिय बनाउन लागिएको भन्दै अब वाइसीएल रुपान्तरणसहिको वाइसीएल बन्ने बताउनुभयो । नेकपा माओवादी पार्टी र प्रचण्डको विरुद्धमा लाग्ने प्रतिगमनहरुलाई प्रतिवाद गर्न वाइसिएललाई निर्देशन दिनुभएको छ । पार्टीलाई चौतर्फी हमला हुँदा वाइसीएल सक्रिय हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले नेकपा माओवादी देशको ठूलो पार्टीको रुपमा उदाउन कदम अघि बढाइसकेको बताउनुभयो । उहाँले आफ्नो सबै इकाइका सदस्यहरुलाई उत्पादनसँग जोड्दै लैजाने समेत बताउनुभएको छ ।
द्वन्द्वकालमा सहिद भएका परिवार, घाइते परिवारसँग माओवादी केही समय पुग्न नसकेको भन्दै अब त्यस्तो नरहने बताउनुभयो । माओवादी पार्टीले शर्मालाई अर्थमन्त्रीको जिम्मेवारी दिएसँगै २ दिन बजेट प्रतिस्थापन विधेयक बनाउने अवसर पाएको भन्दै ५ लाख गरिबलाई १० हजार सरकारले दिने, सहिद परिवारलाई सम्मान रुवरुप मासिक ३ हजार भत्ता र उपचार गर्न नसक्नेलाई मासिक ५ हजार उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो । दशैंअघि गरिब परिवारलाई १० हजार रुपैयाँ बाँड्ने भनिए पनि अबको केही दिनमै सो सूरु गरिने अर्थमन्त्री शर्माको भनाई छ ।
नेकपा माओवादी केन्द्र निकट वाइसीएलको आइतबारनै नयाँ कार्यसमिति समेत चयन हुनेछ । कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सांसदहरु प्रेम पुलामी, वाइसीएल केन्द्रका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा लगायतको उपस्थिति रहेको थियो ।