हेटौंडाः कोभिड–१९ का कारण विद्यालय सञ्चालन नभएको अवधिको दिवा खाजा कार्यक्रमको बजेट कट्टा गरिने भएको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु सञ्चालन नभएको समयको विद्यार्थीको खाजा कट्टा गरिने उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको हो ।
संघीय सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीका लागि गत वर्षदेखि दिवा खाजा कार्यक्रमका लागि बजेट उपलब्ध गराउँदै आएको छ । चालु शैक्षिक सत्रको सुरुदेखि भदौ २६ गतेसम्म हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरु बन्द रहेका थिए । भदौ २७ गतेदेखि खुलेका विद्यालयहरु पनि सबै पूर्णकालीन रुपमा सञ्चालनमा आएका छैनन् । हेटौंडा उपमहानगरपालिकाले पूर्णरुपमा विद्यालय सञ्चालन नभएको समयको दिवा खाजा कार्यक्रमको बजेट कट्टा गरेको रिमालले जानकारी दिनुभयो ।
उपमहानगरले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाबापद प्रतिविद्यार्थी १५ रुपैयाँका दरले बजेट उपलब्ध गराउँदै आएको शिक्षा विकास महाशाखा प्रमुख रिमालले बताउनुभयो । दिवा खाजा कार्यक्रमका लागि विद्यालय अनुदानअन्तर्गत् हेटौंडा उपमहानगरपालिकाका लागि चालु आर्थिक वर्षमा २ करोड ९८ लाख १ हजार बजेट विनियोजन भएको छ । उपमहाननगरमा ७६ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन् । उपमहानगरले छठपछि पूर्णरुपमा विद्यालय सञ्चालनको तयारी थालेकाले पूर्णरुपमा विद्यालय सञ्चालनमा आएपछि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने रिमालले बताउनुभयो ।