हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी एमालेको हेटौंडा नगर प्रथम अधिवेशन सुरु भएको छ । नेकपा एमाले हेटौंडा नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा अधिवेशन सुरु भएको हो ।
हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा भर्खरै सुरु भएको नगर अधिवेशनलाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य शंकर पोखरेल आउँदै हुनुहुन्छ । हेटौंडा उपमहानगर अधिवेशनमा आयोजक कमिटी, पार्टी सदस्यहरुले चुनेका प्रतिनिधीहरु गरी लगभग ७ सय जना प्रतिनिधीहरुको उपस्थितिमा अधिवेशन सुरु भएको आयोजकले जनाएको छ । आज शनिबार हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका ८ वटा पालिकामा एमाले पालिका अधिवेशन भइरहेको छ ।
जसमा थाहा नगर अधिवेशन पालुङमा, गाउँपालिका अन्तर्गत मनहरी अधिवेशन रजैयामा, भीमफेदी अधिवेशन भीमफेदी बजारमा, इन्द्रसरोबर अधिवेशन कुलेखानीमा आयोजना हुने जनाइएको छ । यसैगरी बागमती अधिवेशन फापरबारीमा, बकैया अधिवेशन हात्तिसुडेमा र मकवानपुरगढी अधिवेशन आमभन्ज्याङ्मा आयोजना भइरहेको नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।
मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा भने पार्टी अधिवेशन सम्पन्न भइसकेको छ । शुक्रबार कैलाश गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न भएको हो भने बिहिबार राक्सिराङमा पनि प्रथम अधिवेशन भएको हो । शुक्रबार कैलाशमा भएको अधिवेशनबाट पुण्य प्रसाद भण्डारीलाई पार्टीको गाउँपालिका कमिटी अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ । यस्तै राक्सिराङ गाउँपालिकामा भएको अधिवेशनबाट सिंहराम रुम्बा (रोहन) को अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।