रक्तसञ्चार केन्द्र हेटौंडा शाखामा पुगेर एबी पोजेटिभ ग्रुपको रगत रक्तदान गर्दै सञ्चारकर्मी आरबी पौडेल ।

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडा शाखामा एबी ग्रुपको रगतको अभाव भएको छ । हेटौंडामा अन्य ग्रुपको रगतको अभाव नरहेको र एबी पोजेटिभ रगतको भने अभाव रहेको रक्तसञ्चार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

एबी पोजेटिभ रगत कमै मात्रामा पाइने र हेटौंडा अस्पतालमा डायलाइसिस सेवा लिइरहेका ७ जना बिरामीलाई प्रत्येक हप्तामा एबी पोजेटिभ रगतको आवश्यक पर्ने भएकाले एबी पोजेटिभ रगतको अभाव रहेको उहाँले जानकारी दिनुभयो ।

अहिले रक्तसञ्चार केन्द्रमा एक सय २० पाउन्ड रगत रहेको उहाँले बताउनुभयो । यस्तै, शनिबार हेटौंडा–१८ स्थित ज्योति माविमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । शनिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको थियो ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेको दाहालले जानकारी दिनुभयो । यस्तै, रक्तदान कार्यक्रम आयोजन गर्न विभिन्न संस्थाहरुसँग कुरा भइरहेकाले केही दिनमा रक्तदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार चाडपर्वमा धेरै रक्तदान कार्यक्रमहरु नहुँदा सिमित गु्रपको रगत अभाव भएको बताउनुभयो । रगत अभाव हुँदा कलिङ डोनरहरुलाई बोलाएर रक्तदान हुँदै आएकोसमेत उहाँले बताउनुभयो ।