फाइल तस्विर

हेटौंडाः दशैंमा विदा भएका मकवानपुरका केही सामुदायिक विद्यालयले कक्षा ११ र १२ को पनि पठनपाठन सुरु गरेका छन् । जिल्लाका सबै विद्यालयले दशैं तिहारको बीचमा विदा नदिई कक्षा १ देखि १० सम्मको पठनपाठन सुचारु गरेको भए पनि कक्षा ११ र १२ को पठनपाठन भने सबै विद्यालयले सुचारु गरेका छैनन् ।

बिहीबारबाट कक्षा १ देखि १२ सम्मकै पठनपाठन सुरु गरेको हेटौंंडा—२ स्थित सिद्वार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभयो । विद्यालयमा हाल ११ कक्षामा ३ सय ४० जना र १२ कक्षामा २ सय १७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।

यसैगरी हेटौंडा—४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले पनि बिहीबारदेखि कक्षा एकदेखि १२ कक्षासम्मको पठनपाठन सुरु गरेको बताउनुभयो । विद्यालयमा ११ कक्षामा ४५ जना र १२ कक्षामा ३५ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीको उपस्थिति भने न्यून भएको प्रधानाध्यापक बैठाले बताउनुभयो ।

हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यार्थीको उपस्थिति करिब ६० प्रतिशतमात्र रहेको बताउनुभयो । बिहीबारदेखि कक्षा सञ्चालन गरेको हुँदा आइतबारबाट मात्र विद्यार्थीको उपस्थिति बढ्नसक्ने उहाँले जानकारी दिनुभयो ।

मकवानपुरकै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने हेटौंडा—२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले भने विश्वविद्यालय तहका कक्षाहरुसहित कक्षा ११ र १२ पठनपाठन छठसम्मका लागि बन्द गरेको छ । हेटौंडा—४ स्थित हेटौंडा क्याम्पसले पनि पठनपाठन बन्द गरेको छ । क्याम्पसहरुले भने छठपछि मात्र कक्षा सञ्चालन गर्ने भएका छन् ।