नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्ट

हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्टले आफ्नो सफलताको लागि सबैभन्दा बढी आफ्नो दाजु रन्जन विष्टको हात रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमपश्चात् पत्रकारसँगको कुराकानीमा अन्जनले आफू सफल हुनुमा दाजु रन्जनको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

‘मेरो सफलतामा मेरो परिवार, बुवाममी र दाइको धेरै सहयोग छ । अझ भन्दा मैले फुटबल खेल्न थालेको नै मेरो दाइले गर्दा हो । म जहाँ छु, दाइकै कारणले छु’, उहाँले भन्नुभयो– ‘साथै कोचहरुले पनि धेरै सहयोग गर्नुभयो र अरु धेरै मान्छे हुनुहुन्छ । मैले भनिरहँदा कतिजनाको नाम लिन छुटाउँछु होला । र आफ्नो कडा मिहिनेतले पनि म यो स्थानमा छु ।’

गत शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको विषयमा बोल्नुहुँदै अन्जनले साफ उपाधिकै लागि प्रतियोगितामा सहभागी भएपनि उद्देश्य सफल नहुँदा दुःखी भएको बताउनुभयो । पहिलो पटक साफको फाइनलमा पुग्दा खुसी भएपनि उपाधि जित्न नसकेकोमा भने दुःखी भएको उहाँको भनाई थियो ।

दुई खेलमा पहेंलो कार्ड खाएका कारण फाइनल गुमाउन पुगेका अन्जनले यदि फाइनल खेल खेल्न पाएको भए आफूले टिमका लागि केही गर्ने बताउनुभयो । ‘खेलमा जितिन्छ वा हारिन्छ भनेर पहिल्यै सुनिश्चिित त हुँदैन । तर यदि म फाइनल खेलमा भएको भए केही बेस्ट दिन्थेँ । टिमको लागि केही राम्रो गर्न सक्थेँ भन्ने ममा आत्मविश्वास थियो’, उहाँले भन्नुभयो । अन्जन नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईका खेलाडीका रुपमा खेल्दै आइरहेका छन् ।

अन्जनले गत शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई फाइनल प्रवेश गराउनका लागि माल्दिभ्सविरुद्ध समूह चरणको अन्तिम खेलमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई १–१ गोलको बराबरी दिलाएका थिए । यस्तै यसअघि भएको खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गर्ने क्रममा समेत १ गोल गर्दै म्यान अफ दि म्याचसमेत चुनिएका थिए ।