Home खेलकुद म जहाँ छु, दाइकै कारणले छुः अन्जन विष्ट

म जहाँ छु, दाइकै कारणले छुः अन्जन विष्ट

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्ट

हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्टले आफ्नो सफलताको लागि सबैभन्दा बढी आफ्नो दाजु रन्जन विष्टको हात रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमपश्चात् पत्रकारसँगको कुराकानीमा अन्जनले आफू सफल हुनुमा दाजु रन्जनको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

‘मेरो सफलतामा मेरो परिवार, बुवाममी र दाइको धेरै सहयोग छ । अझ भन्दा मैले फुटबल खेल्न थालेको नै मेरो दाइले गर्दा हो । म जहाँ छु, दाइकै कारणले छु’, उहाँले भन्नुभयो– ‘साथै कोचहरुले पनि धेरै सहयोग गर्नुभयो र अरु धेरै मान्छे हुनुहुन्छ । मैले भनिरहँदा कतिजनाको नाम लिन छुटाउँछु होला । र आफ्नो कडा मिहिनेतले पनि म यो स्थानमा छु ।’

गत शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको विषयमा बोल्नुहुँदै अन्जनले साफ उपाधिकै लागि प्रतियोगितामा सहभागी भएपनि उद्देश्य सफल नहुँदा दुःखी भएको बताउनुभयो । पहिलो पटक साफको फाइनलमा पुग्दा खुसी भएपनि उपाधि जित्न नसकेकोमा भने दुःखी भएको उहाँको भनाई थियो ।

दुई खेलमा पहेंलो कार्ड खाएका कारण फाइनल गुमाउन पुगेका अन्जनले यदि फाइनल खेल खेल्न पाएको भए आफूले टिमका लागि केही गर्ने बताउनुभयो । ‘खेलमा जितिन्छ वा हारिन्छ भनेर पहिल्यै सुनिश्चिित त हुँदैन । तर यदि म फाइनल खेलमा भएको भए केही बेस्ट दिन्थेँ । टिमको लागि केही राम्रो गर्न सक्थेँ भन्ने ममा आत्मविश्वास थियो’, उहाँले भन्नुभयो । अन्जन नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईका खेलाडीका रुपमा खेल्दै आइरहेका छन् ।

अन्जनले गत शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई फाइनल प्रवेश गराउनका लागि माल्दिभ्सविरुद्ध समूह चरणको अन्तिम खेलमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई १–१ गोलको बराबरी दिलाएका थिए । यस्तै यसअघि भएको खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गर्ने क्रममा समेत १ गोल गर्दै म्यान अफ दि म्याचसमेत चुनिएका थिए ।

Exit mobile version