गुगल तस्बिर ।

हेटौंडाः यस वर्षको दशैं पर्व सकिएसँगै मकवानपुरका विद्यालयहरु खुल्न थालेका छन् । मनहरी गाउँपालिकाका विद्यालय गत मंगलबारबाटै सञ्चालनमा आएका छन् । हेटौंडा उपमहानगरतथा अन्य पालिकाका विद्यालयहरु भने आज बिहीबारबाट खुल्दैछन् ।

कोरोना भाइरस संक्रमणका कारण शैक्षिक सत्र सुरु भएको झण्डै ३ महिना ढिला गरी पठनपाठन सुरु गरेका विद्यालयहरुले यस वर्ष दशैं तिहारको बीचमा विद्यालय सञ्चालन गरेका छन् । मकवानपुरका सबै विद्यालयहरु दशैं तिहारको बीचमा खुले पनि क्याम्पसहरु भने तत्काल नखुल्ने भएका छन् । क्याम्पसहरु छठ पर्वपछि मात्र खुल्ने भएका हुन् ।

विद्यार्थीको शिक्षण सिकाईमा अवरोध नहोस् भन्ने उद्देश्यले घटस्थापनादेखि छठ पर्वसम्म बन्द हुने विद्यालयहरु दशैंपछि खुल्ने विद्यालयका प्रधानाध्यापकहरुले बताउनुभएको थियो । हेटौंडा उपमहानगरपालिकाले असोज १८ गते र १९ गते आयोजना गरेको सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुको बैठकले उपमहानरभित्रका विद्यालय आज बिहीबारबाट खोल्ने निर्णय गरेको थियो । यस्तै, अन्य पालिकाका विद्यालय पनि खुल्ने शिक्षा अधिकृतहरुले बताउनुभएको थियो ।

मकवानपुरका अधिकांश विद्यालय घटस्थापनाका दिनबाट बन्द भएपनि केही विद्यालय भने घटस्थापनापछि पनि केही दिन सञ्चालन भएका थिए । मकवानपुरको बागमती गाउँपालिकाका विद्यालयहरु भने असोज २६ गतेबाट बन्द भई आजबाट खुल्ने बागमती गाउँपालिकाका शिक्षा अधिकृत रमेश बिडारीले बताउनुभयो ।

यसैगरी राक्सिराङ गाउँपालिकामा घटस्थापनदेखि बन्द भएर आजबाट विद्यालय खुल्ने राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीले बताउनुभयो । स्थानीय पाठ्यक्रम तयार गरेर पठनपाठन गराइरहेको राक्सिराङ गाउँपालिकामा ५३ वटा विद्यालय रहेका छन् ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले प्रेस विज्ञप्ति जारी गर्दै असोज २३ गते शुक्रबारसम्म पढाइ भई कात्तिक २ गतेबाट विद्यालय खुल्ने बताउनुभएको थियो ।