विगतका वर्षमा झैं महत्वपूर्ण चाडपर्वको बेलामा हेटौंडा–काठमाडौं चल्ने सुमोले मनोमानीरुपमा यात्रुसँग भाडा उठाउने परम्परा यसवर्ष पनि कायमै रह्यो । हरेक वर्ष प्रहरी प्रशासनले गर्ने आक्कलझुक्कल अनुुगमन, चेकजाँच र कारबाहीले यात्रु ठगिन बन्द भएको छैन । दशैंअघि काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा आउने सुमो तथा अन्य साना सार्वजनिक यात्रुवाहक सवारी साधनले यात्रुसँग डब्बल भाडा असुले भने दशैंपछि हेटौंडाबाट काठमाडौं जाने यात्रुसँग त्यसैगरी भाडा असुल्ने क्रम चलिरहेको छ । ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा असुल गर्ने एक दुुईजनालाई पक्राउ गरे पनि बढी भाडा लिने क्रमले निरन्तरता पाइरहेकै छ ।
दशैं, तिहारजस्ता मुख्य चाडबाडको समयमा एकतर्फी यात्रुको संख्या न्यून हुने कारण देखाउँदै यात्रुलाई दोब्बर–तेब्बर भाडा असुल्ने क्रम यस वर्ष पनि राम्रैसँग चल्यो । सवारी साधनको प्रभावकारी अनुगमन र कारबाही नहुँदा बढी भाडा असुल्ने चालक तथा सवारी धनीलाई प्रोत्साहन भइरहेको छ । बढी भाडा लिनेमात्र नभई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम पनि चाडपर्वको समयमा मौलाउने गरेको छ । ट्राफिक प्रहरीले कहिले काहीँ बढी भाडा असुल गर्ने र सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालकलाई सामान्य जरिवाना गरेर छाडिदिँदा यो क्रमले वर्षेनि निरन्तरता पाइरहेको छ ।
नेपालमा सबैभन्दा बढी चहलपहल तथा आवतजावतका कारण सार्वजनिक यातायातका क्षेत्र धेरै चलायमान हुने समय दशैं, तिहार नै हो । टाढा–टाढा जागिर तथा व्यवसायका लागि बसोबास गरेकाहरुसमेत यी चाडका अवसरमा आफ्नो गाउँ–घर, आफन्तकहाँ तथा घुमघाममा जाने गर्दछन् । यस्तो समयमा सार्वजनिक यातायातको भाडामा मनोमानी गर्ने क्रम रोकिन सकेको छैन । दशैंअघि बढी भाडा असुलीको खासै चर्चा नभए पनि विजया दशमीपछि हेटौंडाबाट काठमाडौं जाने यात्रुहरुसँग बढी भाडा असुलेको भन्दै ट्राफिक प्रहरीले केहीलाई कारबाही गरेको छ । हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं चल्ने सुमोहरुले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरिरहेका छन् । गत कात्तिक १ गतेबाट प्रदेश सरकारले प्रदेशभित्रका सवारी साधनको भाडा वृद्धि गरेको छ । हेटौंडा कुलेखानी काठमाडौं चल्ने सुमोको भाडा ४ सय ४४ रुपैयाँबाट वृद्धि गरेर ५ सय ४६ कायम गरेको भए पनि सुमोले यात्रुसँग एक हजार रुपैयाँभन्दा बढी भाडा लिइरहेको यात्रुहरुको गुनासो छ ।
टाटा सुमोले असुल्ने मनोमानी भाडालाई निरुत्साहित गर्न प्रहरी प्रशासनले सक्रियता देखाएको भनिए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । चाडबाडको बेलामा सवारी साधनको प्रभावकारी अनुगमन नहुँदा र बढी भाडा असुल्ने चालक तथा सवारी धनीलाई कडा कारबाही गर्न नसक्दा यात्रु ठगिने क्रम वर्षेनि चलिरहेको छ । यस्तो गलत प्रवृत्ति रोक्नका लागि प्रहरी प्रशासनले समयमै विशेष सतर्कता अपनाउनु आवश्यक छ । चाडबाडको समयमा सवारी साधनको उचित परिचालन गरेर यात्रुलाई सुविधा दिनुको सट्टा यातायात व्यवसायी मौकामा चौका हान्न सक्रिय बन्ने गरेको पाइन्छ । बढी भाडा असुल्न पाइने कारण बाटामा तँछाडमछाड गरेर सवारी चलाउने र सक्दो यात्रु कोच्ने प्रवृत्तिका कारण यात्रुले महंगो र असहज यात्रा गर्न बाध्य भएका छन् भने गम्भीर दुर्घटनाको जोखिम पनि बढिरहेको छ ।