हेटौंडाः यतिखेर नेपालीहरुको महान चाडहरु सुरु भइरहेको छ । बजारतिर मानिस तथा सवारी साधनको चाप अत्याधिक बढिरहेको देखिन्छ । गतवर्ष कोरोना माहामारीका कारण दशैं, तिहार र छठलगायत नेपालीहरुको महान चाड सांकेतिकरुपमा मनाइएको थियो । यसवर्ष नेपाल सरकारले कोराना संक्रमणदर घटेसँगै सबै क्षेत्रहरु खुला गरेको छ । मानिसहरु बजारमा भिडभाड गरिहेका छन् । तर यतिखेर भने ट्राफिक प्रहरी भने कसरी ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने भन्नेतर्फ लागिरहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । हेटौंडामा ट्राफिक व्यवस्थापनमा चुनौती छ भन्ने कुरा नौलो भने होइन । प्रदेशको राजधानी हेटौंडामा बढ्दो सवारी चाप, साँघुरो सडक, व्यवस्थित र पर्याप्त पार्किङ क्षेत्र नभएको कारण पनि ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डे बताउनुहुन्छ ।
जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति अभाव छ । २०५३ सालदेखि नै अहिलेसम्म मकवानपुरमा ११ पोष्टका लागि जम्मा ३३ जनामात्र ट्राफिक प्रहरीको जनशक्ति छ । सवारी साधनहरुको संख्या लाखौंको संख्यामा बढिसक्यो तर सडकको अवस्था उही छ । बिग्रिएको सडकको पनि समयमा मर्मत सम्भार हुन सकेको छैन । ट्राफिक जनशक्तिकोे पर्याप्तता, सडक फराकिलो, उचित पार्किङ स्थल भयो भनेमात्र ट्राफिक व्यवस्थापनमा सहज हुने र सवारी दुर्घटना पनि कम हुने प्रमुख पाण्डे बताउनुहुन्छ ।

मकवानपुर कम्तिमा ५० जना ट्राफिक जनशक्ति भएपछि मात्र ट्राफिक व्यवस्थापनमा सहज हुने पाण्डेले बताउनुभयो । हेटौंडामा पार्किङ क्षेत्रको विषयमा हेटौंडा उपमहानगरपालिकासँग छलफल गरिहेको पनि प्रमुख पाण्डेले बताउनुभयो ।

अहिले हेटौंडा बजारका सडक छेउछाउका फुटपाथ पसलहरुमा मानिसहरुको भिडभाड अत्यधिक देखिन्छ । मानिसहरुले फुटपाथ पसल छेउछाउ जताततै सवारी साधनहरु पार्किङ गरेर राखेका पाइन्छ । चाडपर्वको समयमा मात्र हेटौंडा फुटपाथ पसलहरुमा भिडभाड हुने भने होइन । हेटौंडा बजारमा केही ठाउँमा पार्किङ स्थलका लागि पार्किङ क्षेत्र छुट्याइएको छ । तर यी पार्किङ क्षेत्रहरु व्यवस्थित, पर्याप्त र उपयुक्त स्थानमा छैनन् ।

सवारी चालकहरुले आफ्नो सवारी साधन तोकिएको स्थानमा नरोकेर जथाभावीरुपमा रोक्ने गरेका छन् । यसले गर्दा सडकमा जताततै सवारी साधन अस्तव्यस्तमात्र होइन, सवारी दुर्घटनाको सम्भावना पनि अत्यधिक बढेको पाइन्छ । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउ खटिएका ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ ।

चाडपर्वको समयमा प्रायःजसोे मानिसहरु मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने गर्दछन् । मादकपदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । मकवानपुरमा चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने, लाइसेन्सबिना सवारी साधन चलाएमा कडा कारबाही गर्ने जनाएको छ ।