हेटौंडाः हेटौंडा–११ मा टोलस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा आयोजक कृष्णमन्दिर टोल विकास संस्था र सडक टोल विकास संस्था भिड्ने भएको छ । सोमबार फाइनल खेल हुनेछ । यस्तै तेस्रो स्थानका लागि दुम्सीडाँडा टोल विकास संस्था र तल्लोताल टोल विकास संस्थाबीच खेल हुनेछ ।
आइतबार भएको सेमीफाइनल खेलमा सडकटोल टोल विकास संस्थाले दुम्सीडाँडा टोल विकास संस्थालाई २५–२३, १८–२५ र २५–१० को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यस्तै आयोजक कृष्णमन्दिर टोल विकास संस्थाले तल्लोताल टोल विकास संस्थालाई २५–२३, २१–२५ र २५–२१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको आर्थिक सहयोगमा शनिबारबाट सुरु भएको टोलस्तरीय भलिबल प्रतियोगिताको विजेताले २० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः १० र ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक सज्जन रिमालले जानकारी दिनुभएको छ ।