हेटौंडाः ए डिभिजन फुटबल खेलाडी सञ्जीव अर्याल (खैरे भाइ) को ह्याट्रिक गोलमा जनप्रवाह क्लब (शान्तिनगर) टोलले हेटौंडा–५ क्याम्पा रंगशालामा जारी टोलस्तरीय खसी कप ८ ए साइड फुटबल प्रतियोगितामा फराकिलो जीत हात पारेको छ । शनिबार भएको दोस्रो खेलमा शान्तिनगरले पिप्ले सुपर भेट्रान्सलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
विजया दशमी २०७८ को अवसरमा पिप्ले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको २७ औं संस्करणमा शान्तिनगरलाई जीत दिलाउन खैरे भाइले ३ गोल गर्दा थप २ गोल एञ्जल महर्जनले गरेका थिए । खेलको म्यान अफ दि म्याच ह्याट्रिककर्ता नै घोषित हुँदै उनले कुखुराको भाले पाएका छन् ।
यसअघि भएको शनिबारको पहिलो खेलमा पिप्ले भेट्रान्सले दोस्रो जीत निकालेको छ । पिप्ले भेट्रान्सले रत्नकाली क्लब (राईटोल) लाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पिप्लेको जीतमा सुविन घिमिरे, अनुज कार्की, बद्री दुलाल र सन्तोष श्रेष्ठले १÷१ गोल गरे । खेलको म्यान अफ दि म्याच भने पिप्ले भेट्रान्सका डिफेन्डर विवेक अर्याल भए ।
यी दुई टोलीले फाइनल प्रवेशका लागि आइतबार सेमिफाइनलको दोस्रोे खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि हुने सेमिफाइनलको पहिलो खेलमा बालुवाटार र मास्टर चोकबीच फाइनल प्रवेशकै लागि प्रतिस्पर्धा हुँदैछ ।