हेटौंडाः चाडपर्व नजिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा खुकुलो बनाएपछि अहिले बजारमा सर्वसाधारणको भिड बढेको छ । गत वर्ष कोरोना महामारीका बेला सर्वसाधारणको घुइँचो कम देखिए पनि कोरोना भाइरस संक्रमण जारी रहेकै बेला यसवर्ष सर्वसाधारणको भिड बढेको हो ।
दशैं सुरु भएसँगै जिल्लाका ग्रामीण भेगबाट बजारमा दशैंका अत्यावश्यक सामग्री तथा लत्ताकपडा किनमेलका लागि आउनेहरुको भिड दिनानुदिन बढ्दै गएको छ । बढ्दो भिडभाडले सबैमा कोरोना हराएको हो कि भन्ने प्रश्नचिन्ह खडा भएको छ । हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मौनदर्शक बनेका छन् । न त सर्वसाधरण सचेत बन्नसके, न त सम्बन्धित निकायले सुरक्षा नै कडा पार्नसके । यसले कोरोना संक्रमणको जोखिम निम्त्याउन सक्ने कुरामा सबै सचेत बन्नु आवश्यक देखिन्छ ।