हेटौंडाः हेटौंडामा दशैं सुरु भएसँगै सवारी साधनको चाप पनि बढेको छ । दशैंको दोस्रो दिन शुक्रबार हेटौंडामा सवारी साधनको चाप निकै बढेको हो । सवारी साधन चालक तथा पैदलयात्री कसैले पनि ट्राफिक नियमको पालनामा ध्यान दिएको पाइएन ।
जिल्ला प्रशासन कार्यालयले लामो समयदेखि कोरोना महामारीको डर बढेको भन्दै निषेधाज्ञा जारी नै राखेको भए पनि अहिले चाडपर्वमा अनुगमन तथा कारबाही फितलो बनेको छ । यसबेलामा बजारका सबै पसल, होटल, बार, सेमिनार, पार्टी प्यालेस, पर्यटकीय, धार्मिक क्षेत्रहरु खुलेका छन् । जसकारण हेटौंडामा बढ्दो सवारी चापका कारण चाडपर्वकै बेला ठूलो धनजनको क्षति हुनसक्ने सम्भावना नकार्न सकिन्न ।
चाडपर्वमा विभिन्न आपराधिक गतिविधि बढ्ने भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा कडाइका साथ निगरानी बढाउने भन्दै विशेष सुरक्षा योजना तयार पारिएको जनाएको थियो । तर, हेटौंडाकै मुख्य चोकहरु सीमाचोक, बुद्धचोक र मेनरोडमा प्रहरीले न सुरक्षाको निगरानी गरे, न त ट्राफिक व्यवस्थापन नै गर्न सके । एउटै साइडमा ५ वटासम्म गाडी, मोटरसाइकल र अटोहरु विपरित दिशातिर हुइँकिएका थिए ।

ट्राफिक व्यवस्थापनमा बुद्धचोक, सीमाचोकलगायत बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गर्नुपर्ने भए पनि परिचालन गरिएको छैन । चाडपर्वको बेलामा प्रहरीलाई मादकपदार्थ सेवन गरी सवारी चलाउने, झैझगडा गर्ने, तासजुवा खेल्ने, चोरी बढ्ने, सवारी साधनले यात्रुबाट चर्को भाडा असुली गर्ने, ट्राफिक व्यवस्थापनलगायत चुनौती हुने गर्दछ ।
मकवानपुरमा चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षा निगरानी कडाई गरिने कुरा व्यवहारमा भने देखिएको छैन । सुरक्षा कडाई गर्न विशेष राजमार्गमा केन्द्रित प्रहरी गस्ती, चोक–चोक, टोल–टोल, गाउँ–गाउँसम्म प्रहरीको गस्ती दिनरात खटिने जिल्ला प्रहरी कार्यालय मकवानपुरको दावी यतिबेला कुरामै सिमित बनेका छन् । प्रहरीले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र भ्यान गस्तीबाट सुरक्षा प्रदान गरिरहेको बताए पनि प्रभावकारी बन्न सकेको पाइँदैन।
हेल्प डेस्कसमेत सञ्चालन गरी मुख्य लोकमार्गमा हुनसक्ने दुर्घटना, जामजस्ता समस्या हुन नदिन अभियान थालनी गरिए पनि बजारको मुख्य चोक तथा मेनरोडमा सवारी तथा पैदल यात्रीको भिडभाडले प्रहरीलाई नै गिज्याइरहेको भान हुन्छ । प्रहरीले घटस्थापनादेखि छठसम्मको सुरक्षाको नयाँ रणनीति बनाएको बताए पनि यसबेला ट्राफिक व्यस्थापनमा सबैभन्दा बढी चुनौती देखिएको छ ।