हेटौंडाः स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुक्रबारबाट सुरु भएको छ । तीन दिवसीय समीक्षा गोष्ठीमा बागमती प्रदेशभरका अस्पतालका डाक्टर, संघसंस्थाका प्रतिनिधि, आयुर्वेद केन्द्र प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।
समीक्षा गोष्ठीमा सहभागीहरुले आफ्ना जिल्लामा कस्ता रोग देखा परे, कसरी रोग निर्मूल पारियो, संक्रमणका किसिम, जनशक्तिको स्थिति र सफल कार्यसहित स्वास्थ्य कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए । स्वास्थ्य कार्यालय मकवानपुका प्रमुख प्रणयकुमार उपाध्यायले मकवानपुरमा १ सय २ वटा सार्वजनिक संस्था कार्यालय भएको र २९ वटा गैरसरकारी स्वास्थ्य कार्यालय भएको बताउनुभयो । मकवानपुरमा २०७८ साल बैशाखदेखि असारसम्म ४० प्रतिशत संक्रमित देखिएको बताउनुभयो । मृत्यु हुनेमा भने १.२८ प्रतिशत भएको बताउनुभयो ।
कतिपय सामान्य रुघाखोकी तथा ज्वरो आएपनि पोजेटिभ देखाएकाले तथ्यांक भने गलत रहेको दावी प्रमुख उपाध्यायले गर्नुभयो । मकवानपुरमा स्वास्थ्य क्षेत्रमा गत आर्थिक वर्षका लागि ६७ करोड ६८ लाख २ हजार रुपैयाँ बजेट विनियोजन भएको उहाँले बताउनुभयो । ३४ करोड ८३ लाख ९ हजार २ सय २९ रुपैयाँ बजेट खर्च भएको भन्दै उहाँले ५१ प्रतिशत स्वास्थ्य क्षेत्रमा प्रगति देखिँदा भौतिक प्रगति ७२ प्रतिशत भएको बताउनुभयो । यस्तै, बेरुजु रकम ६ करोड ९१ लाख १ हजार रहेको बताउनुभयो । प्रदेश राजधानी हेटौंडामा स्वास्थ्य कार्यालय भवन तथा स्वास्थ्य सामग्रीको अभाव रहेको प्रमुख उपाध्यायले बताउनुभयो ।
पाटन अस्पतालको समन्वयमा मकवानपुरको राक्सिराङ गाउँपालिकामा आमाबुबा बचाउ अभियान सञ्चालित रहेको उपाध्यायले जानकारी दिनुभयो । उपमहानगरभित्र नै ३ जना स्वास्थ्यकर्मीले स्वास्थ्य चौकी धान्नुपर्ने भएकाले जनशक्ति अभाव रहेको उहाँले बताउनुभयो ।