सरसफाई कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः हेटौंडा— ५ मा रहेको संयुक्त युवा क्लबको आयोजनामा सरसफाई कार्यक्रम भएको छ । विजयादशमी, दीपावली र छठ पर्वमा मानिसको अत्यधिक भिडले बजार क्षेत्र फोहोर हुने भएकाले सरसफाई गरिएको हो ।

हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्य तथा संयुक्त युवा क्लब अध्यक्ष विशालराज महतको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । सरसफाईले नै समाजको सभ्यताको परिचय दिने भएकाले सरसफाईलाई निरन्तरता दिने गरी सुरुवात गरेको अध्यक्ष महतले बताउनुभयो । मानिसको स्वास्थ्य राम्रो भएपछि असल विचार आउने र संयुक्त सरसफाई कार्यक्रमले एकताको समेत सन्देश दिने भएकाले सरसफाई कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो दिनको सरसफाई शान्तिनगर टोलबाट सुरु गरी बानियाँ टोल जाने पुलसम्म सफा गरेको जनप्रवाह क्लबका अध्यक्ष हरिबहादुर कुँवरले बताउनुभयो । कार्यक्रममा हेटौंडाको वडा नम्बर ५ मा रहेका पिप्ले युवा क्लब, जनप्रवाह क्लब, खेलकुद तथा समाजिक विकास मण्डल, सानोपोखरा क्लब, प्रतिभा युवा क्लब, रत्नकाली क्लब, बालुवाटार युवा क्लब, संसारिमाई युवा क्लब, ५ नम्बर वडा क्लब, ५ नम्वर वडाका जनप्रतिनिधि, शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।