हेटौंडाः पूर्व फिफा रेफ्रि लव खत्रीको सम्झनामा मकवानपुर जिल्ला फुटबल संघ तथा मकवानपुर जिल्ला रेफ्रि परिवारले शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेका छन् । अखिल नेपाल फुटबल रेफ्रि संघका महासचिव समेत रहनुभएका खत्रीको सोमबार मृत्यु भएको हो ।
६ महिना अगाडि मात्र खत्रीले बागमती प्रदेशमा भएको फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रममा मकवानपुरका ६ जना रेफ्रिसहितलाई प्रशिक्षित गराउनुभएको थियो । खत्रीले गर्नुभएको राम्रा कामहरु तथा उहाँले फुटबलको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै श्रद्धाञ्जली अर्पण गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभयो । राम्रो काम गर्ने मान्छेलाई सबैले याद राख्ने भन्नुहुँदै अध्यक्ष लामाले देशका सम्पूर्ण रेफ्रि तथा खेलाडीहरुलाई स्वर्गीय खत्रीले धेरै राम्रो प्रेरणा प्रदान गर्नुभएको बताउनुभयो ।
बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, रेफ्रि एशोसियर कल्पना शर्मा, फिफा असिस्टेन्ट रेफ्रि तथा मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्ल लगायत मकवानपुर जिल्लाका रेफ्रिहरुको उपस्थितिमा श्रद्धाञ्जली सभा भएको थियो । यस्तै सोमबार मकवानपुर लगायत देशभरका खेलाडीहरुले हातमा कालो कपडा बाँधेर फुटबल प्रतियोगिता खेलेका थिए ।