हेटौंडा–८ स्थित, विकास टोलमा सडक ढलान गर्दै ।

हेटौंडाः यस वर्षको वर्षा सकिएलगत्तै हेटौंडामा पक्की बाटो बनाउने कार्य सुरु भएको छ । चालु आर्थिक वर्षमा भौतिक निर्माणतर्फको पहिलो योजनाको रुपमा हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडाले मंगलबार विकास टोलमा सडक ढलान गर्न सुरु गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको ४ लाख रुपैयाँ र जनश्रमदानसहित २ लाख रुपैयाँ उपभोक्ताको लागत सहभागितामा सडक ढलान गर्न सुरु गरिएको टोल विकास संस्था वडा समन्वय समितिका सदस्य विष्णु अर्यालले जानकारी दिनुभएको छ । ४ मिटर चौडाईको सडक ९० मिटर लम्वाई ढलान हुनेछ । बुधबार ढलान कार्य सकिने बताइएको छ ।

वडामा चालु आर्थिक वर्षकै पहिलो निर्माण योजनाको सुरुवात गर्ने क्रममा वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, वडा सदस्य यशोदा उप्रेती, गोतामे मोक्तान, विकास टोल विकास संस्थाकी उपाध्यक्ष सुमित्रा पाण्डेको पनि उपस्थिति रहेको थियो ।